काठमाडौं - बाराबाट काठमाडौँ ल्याउँदै गरिएको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु सशस्त्र प्रहरीले बरामद गरेको छ ।
मंसिर ३ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वार अगाडिबाट बिलबिजकबिनै ओसारपसार भइरहेको काजु बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडी जाँच गरेको थियो ।
जाँचका क्रममा बिलबिजक नभएको काजु फेला परेपछि गाडीमा सवार वीरगञ्ज महानगरपालिका–२५ निवासी रोशनकुमार साहलाई काजुसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद काजु र नियन्त्रणमा लिइएका साहलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

