Harsamaya
८८ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ
बरामद गरिएका सामान ।

काठमाडौं - काठमाडौं उपत्यकामा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले सञ्चालन गरेको विशेष अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

ब्युरोका अनुसार मंसिर ३० गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट चार जनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, लागुऔषध तौल गर्न प्रयोग हुने दुई थान डिजिटल तराजु, २ लाख ८० हजार रुपैयाँ नगद र चार थान मोबाइल बरामद गरिएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समीर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा, काभ्रेकै मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राम रसाइली र भारतको बिहारस्थित मधुवनी जिल्ला कमलाहरी–१२ का २२ वर्षीय कमलेश कुमार साह रहेका छन् ।

ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएर बरामद लागुऔषध तथा अन्य सामग्रीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update