काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो गैरराजनीतिक पहिचान कायम राख्न राजनीतिक उद्देश्य भएका संस्था तथा संगठनमा आबद्ध पदाधिकारी र सदस्यलाई त्यस्तो पद वा सदस्यता त्याग्न निर्देशन दिएको छ।
संघका महासचिव डा. चिरञ्जीवी खड्काले अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२५–२०२७ कार्यकाल) का सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई आन्तरिक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
परिपत्रमा राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा रहेका व्यक्तिलाई परिपत्र प्राप्त भएको मितिले सात दिनभित्र त्यस्तो पद वा सदस्यता त्याग्न भनिएको छ। साथै, पद वा सदस्यता त्याग गरेको आधिकारिक प्रमाणसहित लिखित जानकारी संघको सचिवालयमा बुझाउन निर्देशन दिइएको छ।
संघको विधान, २००३ (२०२६ को संशोधनसहित)को प्रस्तावनाले एनआरएनएलाई गैरराजनीतिक संस्थाका रूपमा स्थापित गरेको उल्लेख गर्दै परिपत्रमा गैरराजनीतिक पहिचान, संस्थागत स्वायत्तता र स्वतन्त्र अस्तित्वलाई संघको आधारभूत संस्थागत संरचनाको अभिन्न अंग भनिएको छ।
संघका केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा निर्वाचित, मनोनीत वा चयन भएको सम्बन्धमा विभिन्न उजुरी तथा गुनासा प्राप्त भएपछि यो विषय संस्थागत रूपमा अघि बढाइएको महासचिवको परिपत्रमा उल्लेख छ।
उक्त विषयमा अक्टोबर ४ र ५, २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा विस्तृत छलफल भएको र संघको गैरराजनीतिक पहिचान तथा विधानमा निहित मान्यताको संरक्षण गर्ने निर्णय भएको पनि परिपत्रमा जनाइएको छ।
तोकिएको सातदिने अवधिभित्र पद वा सदस्यता त्याग गरेको प्रमाणसहित जानकारी नदिएमा वा छानबिनका क्रममा विधानविपरीत कार्य भएको देखिएमा संघको विधान तथा प्रचलित कानुनबमोजिम आवश्यक छानबिन र कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
महासचिव खड्काले यो परिपत्र व्यक्तिगत आग्रह नभई अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णय कार्यान्वयन तथा संघको गैरराजनीतिक पहिचान र संस्थागत स्वायत्तताको संरक्षणका लागि जारी गरिएको औपचारिक निर्देशन भएको स्पष्ट पारेका छन्। परिपत्र तत्काल लागू हुने जनाइएको छ।

