हेटौँडा - मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्।
मधेश प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि शव परीक्षणका लागि सहमति जुटेको हो।
छलफलका क्रममा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा र पालनपोषणको जिम्मेवारी सरकारले लिनुपर्ने माग राखिएको छ। उक्त माग सात दिनभित्र सम्बोधन गर्नुपर्ने उनीहरूको अडान छ।
मृतक पक्षले राखेका माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पु¥याई सम्बोधनका लागि आवश्यक पहल गर्ने आश्वासन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले दिएपछि शव परीक्षण गर्न सहमति जुटेको बताइएको छ।
सहमति जुटेसँगै १३ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइने भएको छ। परीक्षण सम्पन्न भएपछि आफन्तले शव बुझेर अन्तिम संस्कारका लागि सर्लाही लैजाने तयारी गरेका छन्।
दुर्घटनामा १४ जनाले ज्यान गुमाएको घटनापछि पीडित परिवारले क्षतिपूर्ति, रोजगारी तथा घाइते बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन्।

