Harsamaya
ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

चितवन - चितवनको भरतपुर महानगरपालिका–१६ स्थित फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहान ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले बिहान ९ बजेर ५४ मिनेटमा मृत घोषणा गरेका थिए ।

दुर्घटनामा अन्य दुई जना पैदलयात्री पनि घाइते भएका छन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update