काभ्रे - बनेपामा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन्। धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट गइरहेको अर्को बस ठोक्किँदा दुर्घटना भएको हो।
बिहीबार बा ५ ख २९७ नम्बरको बस र बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पठाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेहरूमा काभ्रेको बनेपा नगरपालिका–३ का ५८ वर्षीय दुर्गा सिमथान, भुम्लु गाउँपालिका–१ का ४० वर्षीय मनिष पहरी, बनेपा नगरपालिका–५ की २६ वर्षीया उर्मिला महत र उनका ११ वर्षीय छोरा युसन बुर्जा रहेका छन्।
त्यस्तै, खोटाङको दिक्तेलकी ५५ वर्षीया देवकी निरौला, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ का १६ वर्षीय छिरिङ लामा, सुनकोशी गाउँपालिका–५ की २० वर्षीया दिपा कुँवर, साँगाचोक नगरपालिका–१२ की ४० वर्षीया कल्पना खत्री, सुनकोशी गाउँपालिका–५ का ४० वर्षीय पाम्देल लामा र लिसंखुपाखर गाउँपालिका–३ की ४१ वर्षीया राममाया तामाङ पनि घाइते भएका छन्।
यसैगरी, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ का अन्दाजी २६ वर्षीय अभिनाश खड्का, सुनकोशी गाउँपालिका–६ की ४१ वर्षीया संगिता कार्की र उनका अन्दाजी ८ वर्षीय छोरा आरोब बुढाथोकी, सोही गाउँपालिका–६ की अन्दाजी ३४ वर्षीया आसा सापकोटा, सुनकोशी गाउँपालिका–१ का अन्दाजी ५० वर्षीय एक ब. खत्री, काभ्रेको भुम्लु गाउँपालिका–५ की अन्दाजी ६० वर्षीया कान्छी खरेल, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–८ की अन्दाजी ५० वर्षीया कृष्णलक्ष्मी श्रेष्ठ घाइते भएका छन्।
काठमाडौंकी अन्दाजी ५५ वर्षीया मानकुमारी शाह, सिन्धुलीको हरिहरपुर नगरपालिका–४ की ३३ वर्षीया सबिना खड्का, काभ्रेको धुलिखेल नगरपालिका–८ का अन्दाजी १४ वर्षीय असिम पन्त र उनकी १० वर्षीया बहिनी अस्मी पन्त पनि दुर्घटनामा घाइते भएका छन्।
धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–८ की अन्दाजी ३८ वर्षीया सबिना खड्का, सोही स्थानकी अन्दाजी १६ वर्षीया सानिया खड्गी, पाँचखाल नगरपालिका–१० का अन्दाजी १६ वर्षीय रोहन आचार्य र दोलखाको मेलुङ गाउँपालिका–१ की अन्दाजी १६ वर्षीया सुनिता थपौलिया रहेका छन्।
घाइतेहरूको टाउको, अनुहार, हात, खुट्टा, घुँडा, छाती, नाक, मुख तथा दाँतमा चोट लागेको छ। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको छ।
दुर्घटनापछि प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

