Harsamaya
माइक्रोबस सडकबाट १५ मिटर तल खस्यो, १० जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

उदयपुर - त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दुर्घटनामा चालकसहित माइक्रोबसमा सवार ११ जनामध्ये १० जना घाइते भएका हुन् भने एक बालिका सकुशल रहेकी छन्।

आज दिउँसो बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो।

माइक्रोबस काठमाडौँ महानगरपालिका–३२ निवासी अन्दाजी ४२ वर्षीय कृष्ण केसीले चलाएका थिए। दुर्घटनामा चालक केसीसहित झापा सुरुङ्गा नगरपालिका–३ की अन्दाजी ४० वर्षीया रेणुका प्रसाईँ र उनका १४ वर्षीय छोरा नैन प्रसाईँ घाइते भएका छन्।

त्यस्तै, मोरङ उर्लाबारी नगरपालिका–३ की अन्दाजी ५० वर्षीया निलकुमारी लम्साल, सुनसरी इटहरी उपमहानगरपालिका–१२ की अन्दाजी ४३ वर्षीया मुना ढकाल, उदयपुर बेलका नगरपालिका–१ का अन्दाजी ३८ वर्षीय प्रबिन तामाङ, मोरङ सुन्दरहरैँचा नगरपालिका–४ का अन्दाजी ७० वर्षीय अमृतबहादुर खड्का र सुनसरी इटहरी उपमहानगरपालिका–८ की अन्दाजी ३७ वर्षीया रन्जिता गौतम पनि घाइते भएका छन्।

दुर्घटनामा उदयपुर चौदण्डीगढी नगरपालिका–१० की अन्दाजी २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक घाइते भएका छन्। रेणुका प्रसाईँकी अन्दाजी १० वर्षीया छोरी निरुसा प्रसाईँ भने सकुशल रहेकी छन्।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update