काठमाडौं - मण्डला थिएटर नेपालको मञ्चमा सुदूरपश्चिमको माटोको सुवास मिसिएको छ । ठाडी भाकाको लयसँगै डेउडाको मिठास गुञ्जिँदा काठमाडौंको भीडबीच कतै टाढाको गाउँघर सम्झिएजस्तो हुन्छ । यही अनुभूतिलाई स्वर दिइरहेकी छन् डडेलधुराकी कलाकार हरिना नाथ ।
मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘श्री बिज्जो भूत’मा हरिनाको आवाजमार्फत सुदूरपश्चिमका मौलिक ठाडी भाका र डेउडा गुञ्जिरहेका छन् । उनका लागि यो केवल नाटकको एउटा अंश होइन, आफू जन्मिएको भूगोल, बाल्यकालदेखि सुन्दै-गाउँदै आएको संस्कृति र आफ्नै माटोसँग जोडिएको एउटा भावनात्मक यात्रा पनि हो ।
गीत–संगीतप्रतिको रहर हरिनामा बच्चैदेखि थियो । सानैदेखि गुनगुनाउँदै हुर्किएकी उनले अहिले संगीतको क्षेत्रमा पाइला टेकेको पनि दुई–तीन वर्ष हुन लागेको बताइन् ।
‘गीत–संगीतप्रतिको रहर बच्चादेखिकै हो । सानैदेखि गुनगुनाइराख्थेँ। अहिले यो क्षेत्रमा आएको दुई–तीन वर्ष हुन लागिसक्यो,’ उनले भनिन् ।
‘श्री बिज्जो भूत’ उनका लागि अर्को अर्थमा पनि विशेष छ । किनकि यही नाटकबाट उनले पहिलोपटक मञ्चमा लाइभ ठाडी भाका र डेउडा गाइरहेकी छन् । स्टुडियोको बन्द कोठामा रेकर्ड गरिएको आवाज र दर्शकसामु पात्रको भावसँगै बग्दै गाउने आवाजबीच ठूलो अन्तर हुने उनको अनुभव छ ।
‘लाइभ चाहिँ मैले कहिले पनि गाएको थिइनँ । यो नाटकमा ठाडी भाका, डेउडा लाइभ गाएको पहिलोपटक हो । त्यही भएर एकदमै खुसी लागेको छ र केही नयाँ कुरा सिक्ने मौका पनि पाएको छु,’ उनले भनिन् ।
स्टुडियोमा गीत रेकर्ड गर्दा आफ्नो लय र समयअनुसार गाउन सकिन्छ । तर थिएटरमा भने हरेक शब्द, हरेक सुर र हरेक ताल पात्रको चाल, संवाद र दृश्यसँग ठ्याक्कै मिल्नुपर्छ । त्यसैले लाइभ प्रस्तुति चुनौतीपूर्ण भए पनि त्यसमा छुट्टै आनन्द रहेको हरिना बताउँछिन् ।
उनका अनुसार नाटकमा लाइभ संगीतले केवल दर्शकलाई मनोरञ्जन दिने काम गर्दैन, त्यसले पात्र र कथालाई पनि भावनात्मक रूपमा जोड्छ । बीच-बीचमा गुञ्जिने ठाडी भाका र डेउडाले नाटकलाई एकनास हुनबाट जोगाउने र दर्शकलाई कथाभित्रै तान्ने उनको अनुभव छ ।
‘नाटकमा लाइभ म्युजिक राख्दाखेरि एकदमै फाइदा हुन्छ । यसले दर्शकलाई पनि मनोरञ्जन दिन्छ । एकनासले नाटक मात्र हेरिराख्दा बोर हुने सम्भावना हुन्छ । त्यसमा म्युजिक हुँदा उनीहरूलाई पनि मनोरञ्जन हुन्छ,’ उनले भनिन् ।
नाटकमा गुञ्जिने एउटा ठाडी भाकाले भने सुदूरपश्चिमको पीडा, माया र परदेशिएको मनको कथा बोकेको छ :
न रही बरछौ न बाडुली
क्यारो माया मानी बाज
क्यारो माया मानी
मेरा बाज कहाँ पुर्यायो
बम्बै क्यारे लले बाज
बम्बै क्यारे लले
आँसु धारा बगाइदियो
परदेशी खेल ले बाज
परदेशी खेल ले…
यी शब्दमा केवल गीत छैन, सुदूरपश्चिमको सामाजिक जीवन, परदेशिएको मान्छेको पीडा र गाउँमा छुटेका आफन्तको सम्झना पनि मिसिएको हरिना बताउँछिन् ।
तर हरिनाको चिन्ता गीत गाउने अवसर पाएको खुसीमै सीमित छैन । उनलाई चिन्ता छ; सुदूरपश्चिमका पुराना ठाडी भाका र डेउडा विस्तारै हराउँदै छन् ।
‘पहिलाको जुन कल्चर थियो, हाम्रा ठाडी भाका, डेउडा जुन पहिलाको थियो नि, त्यसलाई बचाउनका लागि ठूलो अभियान चलाइदिए र त्यसलाई बचाउन पाए हुन्थ्यो,’ उनले भनिन् ।
उनका अनुसार अहिले पुराना भाका गुनगुनाउने क्रमसमेत घट्दै गएको छ । त्यसैले नयाँ पुस्तासम्म मौलिक भाका पुर्याउन अभियान नै आवश्यक रहेको उनको धारणा छ ।
सुदूरपश्चिमको कला, भाषा, संस्कृति र भेषभूषाको संरक्षणमा राज्यको भूमिका पनि महत्वपूर्ण हुने उनले बताइन् । कलाकारलाई प्रोत्साहन र मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले थप ध्यान दिनुपर्ने उनको अपेक्षा छ ।
‘संगीत क्षेत्रमा सरकारले एकदमै कम ध्यान दिएको जस्तो लाग्छ । सुदूरपश्चिमको कला, संस्कृति, भाषा, भेषभूषालाई बचाउनका लागि अलि सपोर्ट गरिदिए हामी सुदूरपश्चिमका कलाकारलाई अगाडि बढ्न एकदमै प्रोत्साहन हुन्थ्यो,’ उनले भनिन् ।
कला क्षेत्रमा आउन हरिनाका लागि सुरुवाती दिन सहज थिएनन् । छोरीबेटी भएर घरबाहिर हिँडेर कला क्षेत्रमा लाग्न केही कठिनाइ भए पनि समयसँगै परिवारले उनको रहर र यात्रालाई बुझ्दै साथ दिएको उनी बताउँछिन् ।
‘सुरु–सुरुमा छोरीबेटी मान्छेलाई बाहिरतिर हिँड्न अलि गाह्रो नै हुन्छ । पछि अलि बुझ्ने भएपछि यो क्षेत्रतिर हिँड्दा–हिँड्दै गर्दाखेरि घरपरिवारले पनि एकदमै साथ र सपोर्ट गर्नुभयो । उहाँहरूको साथ पाएर नै यो स्थानसम्म पुगेकी छु,’ उनले भनिन् ।
अहिले पनि परिवारको साथ उत्तिकै रहेको र आफूले गरिरहेको कामबाट सबै खुसी रहेको उनको भनाइ छ ।
‘अझै पनि घरपरिवारको साथ–सपोर्ट एकदमै छ । सबैजना खुसी हुनुहुन्छ । सधैँभरि खुसी हुनुहोला भन्न चाहन्छु,’ उनले भनिन् ।
आफ्नो यात्रामा परिवारको माया जति महत्वपूर्ण छ, दर्शकको माया पनि त्यत्तिकै महत्वपूर्ण रहेको हरिना बताउँछिन् ।
‘जुन दर्शकले माया गरिदिनुभएको छ, त्यो दर्शकको माया, घरपरिवारको माया, सबैको माया पाएरै अहिले यो स्थानमा छु । सबैलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।
काठमाडौंमा बसेका सुदूरपश्चिमेलीका लागि ‘श्री बिज्जो भूत’ एउटा नाटक मात्रै नभएर केही समयका लागि आफ्नै गाउँघर फर्किने अवसरजस्तै बनेको हरिनाको अनुभव छ । ठाडी भाका र डेउडा सुन्दा धेरैले गाउँघर पुगेको आभास भएको बताउने गरेको उनले सुनाइन् ।
त्यसैले नाटकमा सुदूरपश्चिमका मौलिक भाका समेट्नुको उद्देश्य पनि यही रहेको उनी बताउँछिन्; काठमाडौंमा बसेकाहरूलाई केहीबेर भए पनि आफ्नो माटो, आफ्नो भाषा र आफ्नो गाउँको सम्झनासँग जोड्नु ।
अन्त्यमा हरिनाको आग्रह पनि त्यही संस्कृतिको संरक्षणसँग जोडिएको छ ।
‘हाम्रो सुदूरपश्चिमको संस्कृति, हाम्रो भेषभूषा, परम्परा कसैले पनि नबिर्सिनुहोला । सबैले एकजुट भएर हाम्रो सुदूरपश्चिमको कला–संस्कृतिलाई बचाउने अभियानमा जुट्नुहोला भन्न चाहन्छु,’ उनले भनिन् ।
मण्डला थिएटर नेपालमा मञ्चन भइरहेको ‘श्री बिज्जो भूत’ असोज २५ गतेसम्म हेर्न सकिने उनले बताइन् । अब केही दिन मात्रै बाँकी रहेकाले सबैलाई नाटक हेर्न आउन आग्रह गर्दै उनले दर्शकको प्रतिक्रियाको पनि अपेक्षा गरेकी छन् ।
‘श्री बिज्जो भूत’ हेरेर कस्तो लाग्यो, आफ्नो प्रतिक्रिया पनि दिनुहोला है,’ हरिनाले भनिन् ।


