वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तापछि अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्।
चीनले अमेरिकाबाट आयात गर्ने एक हजार ६१९ प्रकारका वस्तु तथा अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तुमा भन्सार घटाइनेछ। कृषि उपज, चिकित्सा उपकरण, काठ, भान्साका सामग्री र सजावटका सामानलगायत वस्तु सूचीमा छन्।
दुवै देशले आवश्यकताअनुसार सूची संशोधन गर्न सक्ने सहमति गरेका छन्। नयाँ व्यवस्थाले द्विपक्षीय व्यापार र बजार पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि चिप, विद्युतीय सवारीसाधन र ब्याट्रीजस्ता रणनीतिक क्षेत्र भने भन्सार कटौतीको सूचीमा समेटिएका छैनन्। विश्लेषकहरूले व्यापार बढ्ने सम्भावना रहे पनि समग्र आर्थिक प्रभाव सीमित हुन सक्ने बताएका छन्।

