Harsamaya

झापा - वन संरक्षणसँगै पर्यापर्यटन, जैविक विविधता र ऐतिहासिक चन्द्रगढ क्षेत्रको विकासलाई एकीकृत गरेर पर्यटनको क्षेत्रमा फड्को मार्ने योजनाका साथ झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना गतिविधि अघि बढाइरहेको छ ।

सामुदायिक वनका रूपमा विकास हुँदै आएको चन्द्रगढी वनले पछिल्ला वर्षमा वन संरक्षण, वृक्षरोपण, वन पैदावार व्यवस्थापन, सामाजिक उत्तरदायित्व र उपभोक्ताको हितमा काम गर्दै आएको छ । अहिले भने वन क्षेत्रसँग जोडिएको ऐतिहासिक चन्द्रगढलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा वनभित्रको प्राकृतिक सौन्दर्य र जैविक विविधतालाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ ।

भद्रपुर नगरपालिका–९ र १० क्षेत्रमा रहेको चन्द्रगढी सामुदायिक वनको २७औँ वार्षिक साधारणसभामा पनि वन संरक्षणसँगै पर्यटन विकासको विषय प्राथमिकतामा परेको थियो । समूहका अध्यक्ष अनुज खतिवडाले वार्षिक गतिविधि तथा आगामी कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गर्दै वनको दिगो व्यवस्थापन र उपभोक्ताको हितलाई केन्द्रमा राखेर आगामी कार्यक्रम अघि बढाउने बताए । 

साधारणसभाको उद्घाटन गर्दै भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले चन्द्रगढ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नगरपालिकाले पहल गरिरहेको बताए । उनले चालु आर्थिक वर्षमा चन्द्रगढको विकास तथा उन्नतिका लागि सङ्घीय सरकारबाट रु दुई करोड अनुदान ल्याउन सफल भएको जानकारी दिए । 

ऐतिहासिक महत्व बोकेको चन्द्रगढलाई सामुदायिक वनसँग जोडेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ । वन, चन्द्रगढ, पार्क, सिमसार तथा आसपासका प्राकृतिक र सांस्कृतिक सम्पदालाई एकीकृत गरी पर्यटकीय पूर्वाधार विकास गर्न सके चन्द्रगढी क्षेत्रले झापाको पर्यटनमा नयाँ पहिचान बनाउन सक्ने देखिन्छ ।

चन्द्रगढी सामुदायिक वनको विशेषता भनेको यसले लामो समयदेखि वन संरक्षणलाई समुदायको सहभागितासँग जोडेर अघि बढाउनु हो । वन समुदायमा हस्तान्तरण भएपछि उपभोक्ताको सहभागितामा वन संरक्षण, व्यवस्थापन र वन पैदावारको उपयोग हुँदै आएको छ । वनको संरक्षणसँगै उपभोक्ताको सामाजिक तथा आर्थिक हितमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

वन व्यवस्थापनमा वैज्ञानिक पद्धतिको अभ्यासदेखि खाली क्षेत्रमा वृक्षरोपणसम्मका काम समूहले अघि बढाएको छ । पछिल्लो समय वनको खाली रहेको करिब १० हेक्टर क्षेत्रमा नमुना वृक्षरोपण अभियानसमेत अघि बढाइएको छ । डिभिजन वन कार्यालय झापासँगको सहकार्यमा सञ्चालन गरिएको अभियानअन्तर्गत विभिन्न प्रजातिका हजारौँ बिरुवा रोप्ने योजना अघि सारिएको छ ।

यस अभियानमा औषधीय तथा आर्थिक महत्वका वनस्पतिलाई समेत प्राथमिकता दिइएको छ । श्रीखण्ड, अगरु, बडहर, लटहर, बयर र सतिसाललगायतका प्रजातिको संरक्षण तथा विस्तारले भविष्यमा वनको जैविक विविधता बढाउनुका साथै औषधीय वनस्पतिको व्यावसायिक सम्भावना खोज्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वन संरक्षणको यस्तो अभियानलाई पर्यटनसँग जोड्नु चन्द्रगढीका लागि अर्को सम्भावनाको क्षेत्र हो । प्राकृतिक वन, विभिन्न प्रजातिका वनस्पति, सिमसार र खुला हरियाली क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके प्रकृति अवलोकन, वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन, पदयात्रा र शैक्षिक भ्रमणका लागि चन्द्रगढी आकर्षक बन्न सक्छ ।

यसका लागि वन क्षेत्रमा पर्यटकमैत्री पूर्वाधार भने आवश्यक हुनेछ । पैदलमार्ग, विश्रामस्थल, सूचना केन्द्र, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन, पार्किङ, सुरक्षा तथा पर्यटकलाई वन र चन्द्रगढको इतिहास बुझाउने सूचना सामग्री निर्माण गर्नुपर्ने देखिन्छ । स्थानीय उत्पादन तथा हस्तकलालाई पर्यटकसँग जोड्न सके पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पुर्‍याउन सकिने सम्भावना पनि छ ।

चन्द्रगढी वनको विगत हेर्दा आर्थिक गतिविधिको महत्वपूर्ण आधार वन पैदावारसमेत रहँदै आएको देखिन्छ । समूहले काठ तथा अन्य वन पैदावारको व्यवस्थापन र बिक्रीबाट आम्दानी गर्दै आएको छ । विगतका वर्षमा वन पैदावार बिक्रीबाट उल्लेख्य आम्दानी भएको र त्यसको केही हिस्सा उपभोक्ताको हित तथा स्थानीय विकासका काममा प्रयोग गरिएको समूहका प्रतिवेदनमा उल्लेख छ ।

वनको आम्दानीलाई उपभोक्ताको हितमा प्रयोग गर्ने अभ्याससँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् । विपन्न उपभोक्तालाई सहुलियतमा वन पैदावार उपलब्ध गराउने, स्थानीय विकासका काममा सहयोग गर्ने तथा समुदायसँग सम्बन्धित विभिन्न सामाजिक गतिविधिमा सहयोग गर्ने कामले चन्द्रगढी वनलाई स्थानीय समुदायसँग जोडेको छ ।

वन समूहले संरक्षणमा योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने परम्परालाई पनि निरन्तरता दिएको छ । यस वर्षको २७औँ साधारणसभामा समूहमा आबद्ध भई निरन्तर वन संरक्षणमा सहयोग गर्ने कपिलमणि दाहाल, स्वर्गीय पुहान्तु चौधरी तथा फुटबल खेलाडी कर्ण लिम्बू र बक्सिङ खेलाडी नारिका राईलाई दोसल्ला तथा प्रशंसापत्रसहित सम्मान गरिएको छ ।

यसले सामुदायिक वनको काम वनभित्र बिरुवा रोप्ने र काठ उत्पादन गर्ने कार्यमा मात्र सीमित नभई समुदायमा योगदान गर्ने व्यक्तिको पहिचान र सम्मानसँग पनि जोडिएको देखाउँछ ।

साधारणसभामा नगर उपप्रमुख राधा कार्की, युनाइटेड क्लबका राजेश निरौला, सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष घनश्याम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उनीहरूले वन समूहभित्र देखिएका असमझदारी अन्त्य गरी उपभोक्तालाई उपलब्ध गराइने सुविधा सहज बनाउन परिषद् सदस्यहरू जिम्मेवार ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए । यसबाट वनको पर्यटन योजना सफल बनाउन संस्थागत एकता, पारदर्शिता र उपभोक्ताको विश्वास कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण रहेको देखिन्छ ।

चन्द्रगढीको पर्यटन विकासको सम्भावनालाई स्थानीय सरकार र सामुदायिक वनको सहकार्यले थप बल पुर्‍याउने स्थानीय व्यवसायी राजकुमार पोखरेलले बताए ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update