Harsamaya
देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजेदेखि आगामी २४ घण्टासम्म विभिन्न जिल्लाका स-साना नदीमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) आउन सक्ने पूर्वानुमान गरेको छ।

महाशाखाले सार्वजनिक गरेको नक्सामा विभिन्न जिल्लाबाट बहने स-साना नदीमा आकस्मिक बहावको सम्भावना र जोखिमको तह देखाइएको छ।

पूर्वानुमानअनुसार बैतडी, हुम्ला, दार्चुला, बाजुरा, जुम्ला, डडेल्धुरा, कालिकोट, डोटी, अछाम, डोल्पा, मुस्ताङ, कञ्चनपुर, दैलेख, जाजरकोट, कैलाली, रुकुम पश्चिम, मनाङ, म्याग्दी, बर्दिया, सल्यान, रोल्पा, कास्की, लमजुङ, बागलुङ, प्युठान, पाल्पा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सोलुखुम्बु, कपिलवस्तु, रुपन्देही, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, ताप्लेजुङ, रामेछाप, ओखलढुंगा, सिन्धुली, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरी, सप्तरी, झापा लगायतका जिल्लामा जोखिमको अवस्था देखाइएको छ।

महाशाखाले जोखिमको तहलाई न्यून, मध्यम, उच्च र अति उच्च गरी वर्गीकरण गरेको छ।

महाशाखाले नदी तटीय तथा होचा भूभागका बासिन्दालाई नदीको जलसतह बढ्न सक्ने सम्भावनालाई ध्यान दिँदै सतर्क रहन र अद्यावधिक सूचना प्राप्त गरिरहन आग्रह गरेको छ।

उच्च जोखिम भएका क्षेत्रमा अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्न र आवश्यक परे सुरक्षित स्थानमा जान तयार रहन भनिएको छ। गम्भीर बाढीको जोखिम वा बाढी भइरहेको अवस्थामा सम्बन्धित निकायको निर्देशनअनुसार सुरक्षित स्थानमा जान तथा नदी र बाढीग्रस्त क्षेत्रबाट टाढा रहन अनुरोध गरिएको छ।

सम्बन्धित निकायलाई नदीको अवस्था निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचित गर्न, उद्धार तथा राहतका स्रोत–साधन तयारी अवस्थामा राख्न र आवश्यकताअनुसार आपत्कालीन प्रतिकार्य सञ्चालन गर्न महाशाखाले परामर्श दिएको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  ०८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update