Harsamaya
संविधान दिवसले उपलब्धिको रक्षा र संविधान कार्यान्वयनमा जोड दिन प्रेरणा दिन्छ : अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल ।

काठमाडौं - राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले संविधानको पूर्ण कार्यान्वयन, प्राप्त उपलब्धिको संरक्षण र लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक इतिहासमा संविधान सभाबाट संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि भएको बताए । विभिन्न लोकतान्त्रिक आन्दोलन, सशस्त्र संघर्ष, २०६२/६३ को जनआन्दोलन तथा उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका आन्दोलनको योगफलस्वरूप संविधान निर्माण भएको उनले बताए । 

वि.सं.२०७२ असोज ३ गते जननिर्वाचित प्रतिनिधि सम्मिलित संविधान सभाबाट नेपालको संविधान जारी भएको स्मरण गर्दै दाहालले संविधान जारी भएको ११ वर्ष पूरा भएको उल्लेख गरे । संविधान जारी भएको दिनको सम्मान र स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउँदै आएको उनले बताए ।

उनका अनुसार संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशी र समानुपातिक प्रणालीलाई संस्थागत गरेको छ ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले निर्माण गर्नुपर्ने केही कानुन अझै बाँकी रहेको उल्लेख गर्दै बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा समेत कमी रहेको बताए । यसतर्फ सम्बन्धित सबै पक्षको विशेष ध्यान जानुपर्नेमा उनले जोड दिए ।

नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । उनले देश र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिहरूप्रति उच्च सम्मान व्यक्त समेत गरे ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update