काठमाडौं - दक्षिणी फिलिपिन्सको साउथ कोटाबाटो प्रान्तस्थित बाङ्गा नेसनल हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु भएको छ । घटनामा कम्तीमा आठ विद्यार्थी घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार मृत्यु हुनेमा १४ वर्षीय एक बालक र एक बालिका छन् । गोली चलाउने १६ वर्षीय विद्यार्थीले घटनापछि आफैँलाई गोली हानेको बताइएको छ ।
बाङ्गाका मेयर अल्बर्ट पालेन्सियाका अनुसार बन्दुकधारीले आफ्नो कक्षाको छेउमा रहेको कक्षामा रहेका विद्यार्थीमाथि गोली चलाएका थिए । गोली लागेका १० जनामध्ये दुई जनाको मृत्यु भएको र आठ जना घाइते भएका छन् । अत्यधिक आत्तिएर श्वासप्रश्वासमा समस्या देखिएका अर्का एक व्यक्तिलाई पनि अस्पताल लगिएको छ ।
अधिकारीका अनुसार घटनाअघि किशोरले आफ्ना केही साथीलाई घर जान भनेका थिए । आफूले केही गर्न लागेको र त्यसमा साथीहरू पनि मुछिन सक्ने भन्दै उनले साथीहरूलाई घर जान आग्रह गरेका थिए । तर सहपाठीहरूले उनको भनाइलाई गम्भीर रूपमा नलिएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानमा गोली चलाउन प्रयोग गरिएको हतियार किशोरका बुवाको रहेको खुलेको छ । शिक्षा विभागका कर्मचारी उनका बुवाले हतियार सुरक्षित बाकसमा राखेका थिए । किशोरले उक्त बाकस तोडेर हतियार निकालेको मेयरले बताएका छन् ।
प्रहरीले किशोरले अनलाइनमा गरेका केही पोस्टसमेत फेला पारेको जनाएको छ । ती पोस्टको गोलीकाण्डसँग सम्बन्ध भए–नभएकोबारे अनुसन्धान भइरहेको छ । उनका एक साथीले किशोर अनलाइनको ‘ट्रु क्राइम’ समुदायमा संलग्न रहेको बताएको अधिकारीहरूले जनाएका छन् ।
विद्यालयका सल्लाहकारका अनुसार किशोरकी आमाले उनलाई मनोचिकित्सककहाँ लैजान चाहेको जानकारीसमेत दिएकी थिइन् । घटनाको कारण र गोलीकाण्डसँग सम्बन्धित अन्य पक्षबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

