रामेछाप - रामेछापको रणजोर खोलाको सिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक, सामलिस्थान अर्चले, सुनारपानी, मन्थली लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ ।
हिउँद होस् या वर्षा सधैँ पहिरो जने घ्यप्चेमा पानी पर्दा होस् वा घाम चर्कँदा पहिरो गएकै हुन्छ । घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धुलो उडिरहेकै हुन्छ । रामेछापको सदरमुकाम मन्थली छेउबाट बग्ने रणजोर खोलाको सिर हो घ्याप्चे ।
घ्याप्चेमा गएको पहिरो रणजोर खोलाले बगाएर मन्थली हुँदै तामाकोसी नदीमा पु¥याउँछ । घ्याप्चेमा वर्षामा भन्दा हिउँदमा बढी सुक्खा पहिरो जान्छ । हिउँद महिनामा पहिरिएर जम्मा भएको ढुङ्गामाटो वर्षा याममा खोलाले बगाउने गर्दछ । रणजोर खोलामा वर्षामा पानी होइन लेदो माटो बग्छ ।
रामेछापबाट निर्वाचित पूर्वसांसद तथा भूगोलका विज्ञ देवशंकर पौडेलका अनुसार यो पहिरो विसं १९७२ सालदेखि जान सुरु भएको थियो । बिचमा पहिरो जाने रोकिने गर्दै आएको घ्याप्चे विसं २०११ सालदेखि भने लगातार पहिरिँदै आएको छ ।
२०११ सालदेखि गएको यो भीषण पहिरोले गैराथोक, अर्चले, सामलिस्थान र मन्थली घाट लगायत क्षेत्रका कयौँ बस्ती उठाइसक्यो । गैराथोकदेखि मन्थलीको तामाकोसी किनारसम्मको तटीय क्षेत्रको सयौँ रोपनी खेत पहिरोले बगाउने र पुर्ने काम गरिसकेको छ । यसले लाखौँ मुरी धान फल्ने खेत बिगारी सकेको छ, धेरै बस्ती नै उठाएको छु, पौडेलले भने ।
पहिराले गैराथोक र सामलिस्थानका बस्तीमा सबैभन्दा बढी क्षति पुर्याएको छ । ती बस्तीहरू बस्नै नमिल्ने जोखिमपूर्ण अवस्थामा पुगेका छन् । हरेक पटक पहिरो जाँदा ती बस्ती थर्कने र घरहरू चर्कने क्रम जारी छ । गैराथोक र सामलिस्थानका बस्तीका घरहरू बर्सेनि खोलातिर ढल्कँदै गएका छन् । खोलातिर जमिन धसिँदै गएको छ ।
केही वर्ष यता सदरमुकाम मन्थलीमा रणजोर खोला किनारमा अस्वाभाविक रूपमा बस्ती विस्तार हुँदै गएको छ । विगतमा खोला हिँडेको ठाउँमा अहिले बजार बनेको छ । खोलाको पहिरो र बाढी उर्लिएर आउँदा कुनै पनि बेला बाढी पस्ने र ठुलो क्षति पु¥याउने जोखिम छ ।
त्यति मात्र होइन रणजोर खोलाको लेदोले तामाकोशी नदी थुन्यो भने नदीमा ठुलो ड्याम बनेर मन्थलीको आकाशे, हाटेचौर लगायतको क्षेत्रमा समेत क्षति पु¥याउने जोखिम छ । पहिरो रोकथाम र नियन्त्रणको लागि कुनै पनि निकायको ध्यान पुगेको छैन ।

