खोटाङ - खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित बेसक्याम्पमा विस्फोटक पदार्थ फेला परेको छ।
फुटसल मैदान निर्माणका लागि स्थानीयले आज साँझ जमिन खन्ने क्रममा बेवारिसे अवस्थामा विस्फोटक पदार्थ फेला पारेका हुन्।
रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार फेला परेको विस्फोटक पदार्थ सोमबार बिहान मात्रै निष्क्रिय पार्ने तयारी गरिएको छ।
द्वन्द्वकालका समयमा उक्त स्थानमा सुरक्षा फौजको क्याम्प रहेकाले त्यही समयमा विस्फोटक पदार्थ राखिएको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए ।
विस्फोटक पदार्थ तत्काल निष्क्रिय पार्न सम्भव नभएकाले आसपासका क्षेत्रमा नजान र सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।
बेसक्याम्प रहेको क्षेत्रमा यसअघि पनि पटक–पटक विस्फोटक पदार्थ फेला पर्ने गरेको स्थानीयले बताएका छन्। सशस्त्र द्वन्द्वका समयमा उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौज राखिएको थियो।
व्यक्तिको जग्गामा रहेको बेसक्याम्प अन्यत्र सारिएपछि स्थानीयले खेतीपाती तथा जमिन खन्ने क्रममा पटक–पटक द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला पार्दै आएका छन्।

