Harsamaya
बारामा १३९ किलो गाँजा बरामद, तस्करको समूह प्रहरी देखेपछि फरार
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

बारा - बाराको पचरौता नगरपालिका–७ बेनौलीबाट प्रहरीले १३९ किलो गाँजा बरामद गरेको छ।

श्रीनगर बैरिया प्रहरी चौकी र सशस्त्र प्रहरी बलको बीओपी बेनौलीबाट खटिएको संयुक्त गस्ती टोलीले शनिबार राति करिब १०ः३० बजे बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतको आलीमा गस्ती गरिरहेको थियो।

सो क्रममा ९ जना व्यक्तिले झोलाजस्तो पोका बोकेर आउँदै गरेको देखेपछि प्रहरीले रोक्न खोज्दा उनीहरूले बोकेका पोका धानखेतमा फालेर फरार भएका थिए।

प्रहरीले खेतमा फालिएको पोका जाँच गर्दा गाँजा रहेको पुष्टि भएको हो। ९ वटा पोकामा रहेको गाँजाको जुटको बोरासहित तौल १५१ किलो र बोरा हटाएर तौल गर्दा १३९ किलो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बरामद गाँजा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा लगिएको छ।

फरार भएका व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update