काठमाडौं - बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहान ६ः३० बजेसम्मको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, मुगु, रोल्पा र अर्घाखाँचीका विभिन्न सडक प्रभावित भएका छन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडकखण्ड अवरुद्ध छ।
काभ्रेमा बाढीका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारीसाधन रोकिएका छन्।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध छ। नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोला, बेत्रावती नगरपालिका–१० सिमटार तथा टोखा–छहरे र त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि बाढी तथा पहिरोबाट प्रभावित छन्।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर, गजुरी गाउँपालिका–२ परेवाभीर तथा बेनीघाट रोराङ–१० ज्वाङखोला र थाक्रे गाउँपालिका–२ कमेरेभीर क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। केही स्थानमा एकतर्फी तथा साना सवारीसाधन मात्र सञ्चालनमा छन् भने केही खण्ड पूर्णरूपमा अवरुद्ध छन्।
कर्णाली प्रदेशको मुगुमा छायानाथ रारा नगरपालिका–४ ताल्चामा पहिरोका कारण मुगु–गमगढी सडक पूर्णरूपमा अवरुद्ध छ।
लुम्बिनी प्रदेशअन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोर र वडा नं. ६ दुईखोली बजार क्षेत्रमा शहीद मार्ग तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ बालसिद्ध मन्दिर क्षेत्रमा सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने तथा प्रभावित क्षेत्रमा यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको छ।

