मकवानपुर - सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का समयमा आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सवका अवसरमा बोल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए।
उनले प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गरी विपद् व्यवस्थापनमा थप सक्रिय भएर परिचालन हुन निर्देशन दिए। विपद् व्यवस्थापन, राजमार्ग तथा सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रणलगायत आन्तरिक सुरक्षाका क्षेत्रमा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गरे।
कार्य क्षेत्रमा खटिने राष्ट्रसेवकहरू अझ व्यावसायिक, इमानदार, नैतिकवान् र कर्तव्यनिष्ठ हुनुपर्ने बताउँदै पौडेलले परिस्थितिअनुसार तत्काल निर्णय गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए।
पछिल्लो समय विभिन्न स्थानमा देखिएका जातीय, धार्मिक तथा साम्प्रदायिक विवादले सुरक्षा चुनौती थपेको उल्लेख गर्दै उनले यस्ता घटनामा परिचालन हुँदा मानवअधिकारको पूर्ण पालना र कानुनी दायराभित्र रहेर न्यायोचित रूपमा बल प्रयोग गर्न निर्देशन दिए।
व्यक्तिगत आग्रह–पूर्वाग्रहलाई पन्छाएर नेतृत्वसँग सहकार्य गर्दै संगठन विकासमा एउटै लक्ष्यका साथ अघि बढ्न आग्रह गर्दै पौडेलले ‘म होइन, हामी’ भन्ने भावनाका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
सीमावासीसँगको सुमधुर सम्बन्ध सीमा सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले सीमावासीको विश्वास, सहयोग र सहभागितालाई सीमा सुरक्षा तथा व्यवस्थापनमा जोड्नुपर्ने बताए। साथै ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई थप सुदृढ गर्न निर्देशन दिए।
आपद्–विपद्मा परेका नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपाललाई भरोसायोग्य संगठनका रूपमा स्थापित गर्नुपर्ने बताउँदै उनले कमान्डरहरूलाई दण्ड र पुरस्कारको नीति कडाइका साथ लागू गरी कर्मचारीलाई कार्यक्षेत्रमा परिचालन गर्न निर्देशन दिए।
वार्षिकोत्सवका अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टोली, वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा बाहिनीलाई सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

