मकवानपुर - सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको परिवारसँग भेटघाट गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सव तथा बाहिनी मातहतका कार्यालयको अनुगमनका क्रममा महानिरीक्षक पौडेलले स्व. श्रेष्ठको घरमा पुगेर परिवारसँग भेटघाट गरेका हुन्।
भेटका क्रममा पौडेलले सहिद परिवारको सुख–दुःखमा संगठन सदैव साथमा रहने बताउँदै आगामी दिनमा कुनै समस्या परे नजिकैको सशस्त्र प्रहरी बल नेपालको युनिटमा सम्पर्क गरी सहयोग लिन आग्रह गरे।
उनले नजिकै रहेका सहिद परिवारसँग समय–समयमा सम्पर्क गरी उनीहरूका गुनासा तथा समस्या समाधानमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई समेत निर्देशन दिए।
कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीको रगत र पसिनाका कारण संगठन वर्तमान अवस्थामा आइपुगेको उल्लेख गर्दै पौडेलले सहिद परिवारलाई संगठनले सदैव साथ दिने विश्वास दिलाए।
स्व. असिम श्रेष्ठले तत्कालीन माओवादी विद्रोहीसँगको भिडन्तका क्रममा अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा २०५९ साल भदौ २४ गते वीरगति प्राप्त गरेका थिए।
विपद् उद्धारमा तयारी अवस्थामा रहन निर्देशन
यसैबीच, महानिरीक्षक पौडेलको प्रमुख आतिथ्यमा नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सव सम्पन्न भएको छ।
वार्षिकोत्सवका अवसरमा पौडेलले बाहिनी तथा मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई सीमा सुरक्षा, राजस्व संकलन तथा विपद् व्यवस्थापनमा अझ प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिए।
मनसुनको समय अझै नसकिएकाले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहन उनले निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल नेपाललाई विपद्मा परेका नागरिकको सेवा र सुरक्षामा भरोसायोग्य संगठनका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले प्रत्येक कमान्डरलाई दण्ड र पुरस्कारको नीति कडाइका साथ लागू गरी कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए।
वार्षिकोत्सवका अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टोली, वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा बाहिनीलाई सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

