Harsamaya
३२औँ तामाङ प्रसारण दिवसमा दुई पत्रकार सम्मानित
३२औँ तामाङ प्रसारण दिवसका अवसरमा दुई पत्रकार ‘तामाङ मिडिया अवार्ड–२०८३’ ’ बाट सम्मानित ।

काठमाडौं - ३२औँ तामाङ प्रसारण दिवसका अवसरमा दुई पत्रकार ‘तामाङ मिडिया अवार्ड–२०८३’ बाट सम्मानित भएका छन्।

तामाङ पत्रकार संघीय समितिले सोमबार काठमाडौँको बुद्धनगरमा आयोजना गरेको कार्यक्रममा काभ्रेका जगतमान तामाङ र मकवानपुरकी जमुना तामाङलाई सम्मान गरिएको हो। प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य परशुराम तामाङ र संघका अध्यक्ष नेत्र तामाङले दुवैलाई जनही १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरे।

वि.सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय जगतमान तामाङ रेडियो नमोबुद्धका स्टेशन म्यानेजरसँगै नेपाल टेलिभिजनबाट प्रसारण हुने तामाङ भाषाको कार्यक्रम ‘ल्हास्सो’का निर्माता तथा प्रस्तोता हुन्। जमुना तामाङले २०७६ सालदेखि पत्रकारिता सुरु गरेकी हुन्। विभिन्न सञ्चारमाध्यममा काम गर्दै उनी हाल हेटौँडाबाट हिमालय टेलिभिजनकी संवाददाता रहेकी छन्।

वि.सं. २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषाको समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस मनाइँदै आएको छ।

कार्यक्रममा ‘तामाङ सञ्चारको यात्रा : छापादेखि एआईसम्म’ विषयक अन्तरक्रिया पनि गरिएको थियो। वक्ताहरूले तामाङ भाषाको पत्रकारिताको विगत, वर्तमान, प्रविधिको विकास र आगामी चुनौतीबारे चर्चा गरेका थिए।

कार्यक्रममा मातृभाषी पत्रकारिताको संरक्षण तथा प्रवर्द्धनका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिइएको थियो। वक्ताहरूले मातृभाषी पत्रकारिताले भाषा, संस्कृति, कला, संस्कार र पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update