Harsamaya
इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, हजारौँ विस्थापित
इन्डोनेसियामा भूक्मपमा परेर क्षति भएको घर ।

जकार्ता - पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ। उद्धारकर्ताले थप शव फेला पारेपछि मृतकको सङ्ख्या बढेको हो। १३० भन्दा बढी घाइते भएका छन् भने करिब ५ हजार मानिस विस्थापित भएका छन्।

भूकम्पपछि झन्डै एक हजार परकम्प रेकर्ड गरिएको छ। पहिरो तथा सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न कठिन भइरहेको छ। धेरै स्थानीय बासिन्दा घर भत्किने डरले खुला स्थान तथा अस्थायी शिविरमा बसिरहेका छन्।

भूकम्पबाट ९०० भन्दा बढी घरमा क्षति पुगेको छ। सबैभन्दा बढी प्रभावित माङ्गाराई, पूर्वी माङ्गाराई र नागेकेओ क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ। करिब ३ हजार ५०० सेना तथा प्रहरी उद्धार र राहत कार्यमा परिचालन गरिएको छ।

पूर्वी नुसा तेङ्गारा प्रान्त सरकारले उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन अगस्ट १५ देखि २८ सम्म १४ दिने आपत्कालीन अवस्था घोषणा गरेको छ।

इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले भूकम्पको उच्च जोखिममा रहेको देश हो। पछिल्लो भूकम्पलाई सन् २०२२ पछिको देशकै सबैभन्दा घातक भूकम्पमध्ये एक मानिएको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update