रामेछाप - दुई दशकअघि गाउँका अधिकांश युवाको एउटै सपना थियो विदेश जाने, पैसा कमाउने र परिवारको जीवनस्तर सुधार्ने । २०६० र २०७० को दशकमा रामेछापका गाउँहरूबाट पनि युवा बिदेसिने क्रम तीव्र थियो । गाउँका खेतबारी बाँझिन थाले, घरका आँगन सुनसान बन्न थाले ।
त्यही समयमा रामेछाप नगरपालिका–८ बाबियाखर्कका ईश्वर घिमिरे भने गाउँमै बसेर केही गर्ने प्रयासमा थिए । उनले कुखुरा फार्म सञ्चालन गरेका थिए । तर, कुखुरापालनबाट सोचेजस्तो आम्दानी हुन सकेन । त्यसपछि उनलाई पनि गाउँ छाड्ने विचार आयो । तर विदेश जाने सोच भने आएन ।
‘गाउँ छाड्ने, तर विदेश नजाने’ निर्णय गर्दै घिमिरे २०७२ साल पुसमा सदरमुकाम मन्थली झरे । मन्थलीको कुडहरमा केही जग्गा भाडामा लिए । हातमा ठूलो पूँजी थिएन । उनले दुईवटा गाई किने र दूध उत्पादन सुरु गरे । त्यही दुईवटा गाई आज उनको कृषि कर्मको आधार बनेका छन् ।
सुरुमा गाईबाट दूध उत्पादन हुन्थ्यो । दूध बिक्री गरेर आम्दानी हुन थाल्यो । गाईबाट निस्कने गोबर मलका रूपमा प्रयोग गर्न थालेपछि उनले तरकारी खेती पनि सुरु गरे । गाउँमै गर्दै आएको अण्डा दिने लेयर्स कुखुरापालनलाई पनि निरन्तरता दिए ।
दुईवटा गाईबाट सुरु भएको उनको गोठ विस्तारै भरिँदै गयो । तीनै गाईबाट जन्मिएका बाच्छीलाई उनले बिक्री गरेनन बरु गोठमै हुर्काउँदै गए । गाईको संख्या बढ्दै गयो, दूध उत्पादन पनि बढ्दै गयो । ‘अहिले त दुईवटा गाईका सन्तानले नै गोठ भरिएको छ,’ घिमिरे भन्छन् ।
अहिले उनको गोठमा माउ र बाच्छी गरी १३ वटा गाई छन् । तीमध्ये १० वटा माउ गाई र तीनवटा बाच्छी छन् । केही गाई उनले बिक्री गरिसकेका छन् । अहिले पाँचवटा दुहुना गाई छन् भने पाँचवटा ब्याउने अवस्थामा छन् । तीमध्ये तीनवटा यही महिना ब्याउने तयारीमा छन् ।
उनका गाईले दैनिक १५ देखि २५ लिटरसम्म दूध दिन्छन् । उत्पादन भएको दूध उनले नियमित रूपमा बजारमा बिक्री गर्छन् । ‘पहिलाजस्तो दूधको भाउ त छैन, तर राम्रै छ,’ उनी भन्छन् ।
घिमिरेका लागि कृषि पेशा केवल गाई पाल्ने काममा सीमित छैन । गाईसँगै तरकारी खेती र कुखुरापालन पनि उनको दैनिकीको हिस्सा बनेको छ । बिहान सबेरै श्रीमतीसँगै गोठ पुग्नु, गाईलाई घाँस–कुँडो हाल्नु, गोबर सफा गर्नु र दूध दुहुने काम दम्पती मिलेर गर्छन् ।
दूध दुहेपछि ईश्वर मोटरसाइकलमा दूध बोकेर बजारतिर लाग्छन् । श्रीमती भने घरायसी काम सम्हाल्छिन् । दिउँसोको समय तरकारी खेती र कुखुराको हेरचाहमा बित्छ । व्यस्तता धेरै छ । आराम गर्ने समय कम छ । तर आफ्नो कामप्रति उनलाई कुनै गुनासो छैन ।
दुई छोराका बाबुआमा घिमिरे दम्पती आफ्नै पौरखमा रमाएका छन् । उनीहरूका लागि कृषि केवल जीविकोपार्जनको माध्यम होइन, गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हो । विदेशमा गएर घण्टौँ श्रम गरेर कमाउनुपर्ने आम्दानी आफ्नै गाउँमा पसिना बगाएर कमाउन सकिन्छ भन्ने विश्वास उनले व्यवहारबाट देखाएका छन् । त्यससँगै उनले बजारमा शुद्ध दूध पुर्याउने काम पनि गरिरहेका छन् ।
गाउँबाट युवा बाहिरिने क्रम अझै रोकिएको छैन । रोजगारी र अवसरको खोजीमा धेरै युवा विदेश जाने तयारीमा छन् । तर ईश्वरको कथा भने फरक छ । उनले विदेश जाने बाटो रोजेनन् । आफ्नै ठाउँमा सम्भावना खोजे । सानो लगानीबाट सुरु गरेको कामलाई विस्तार गर्दै लगे । गाई बढाए, दूध उत्पादन बढाए, तरकारी लगाए र कुखुरापालनलाई पनि निरन्तरता दिए । उनको गोठमा अहिले गाईको संख्या मात्र बढेको छैन, आत्मविश्वास पनि बढेको छ ।
ईश्वरको भनाइमा मेहनत गर्न सक्ने हो भने अवसर खोज्न टाढा जानैपर्छ भन्ने छैन । आफ्नै गाउँको माटोमा पनि पसिना बगाउने हो भने आम्दानीको बाटो बनाउन सकिन्छ । उनको गोठ, खेत र कुखुरा फार्मले यही सन्देश दिइरहेको छ—८८कामको खोजीमा विदेश जानुभन्दा आफ्नै ठाउँमा सम्भावना खोज्ने हो भने माटोले पनि आम्दानी दिन्छ ।

