काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्ममा अनुगमन गरी दुईवटा व्यवसायलाई जरिवाना गरेको छ भने अन्य फर्मलाई आवश्यक सुधार तथा कागजात व्यवस्थित गर्न निर्देशन दिएको छ।
विभागका अनुसार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको हो।
अनुगमनका क्रममा सपनातीर्थी डेरी प्रालिलाई ५० हजार रुपैयाँ र शुभ मण्डल खाद्य स्टोरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, कन्दमूल एग्रो एण्ड फार्म प्रालिलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात तीन दिनभित्र विभागमा उपस्थित भई पेस गर्न निर्देशन दिइएको छ। यशोदा खाद्य पसललाई प्रत्येक कारोबारको बिल जारी गर्न निर्देशन दिइएको छ।
नेचुरल भ्यू रिसोर्ट प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात तथा खरिद–बिक्रीका बिल व्यवस्थित गर्न, श्री अमृता स्टोरलाई खरिद बिल, बिक्री बिल तथा मूल्यसूची व्यवस्थित गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
त्यसैगरी लक्ष्मण ग्यास डिपो र न्यू सिटी एस इन्टरप्राइजेजलाई सरकारले तोकेको मापदण्ड पालना गर्दै सर्वसाधारण ग्राहकलाई प्राथमिकता दिई ग्यास बिक्री गर्न तथा बिक्री वितरणको अभिलेख र बिल व्यवस्थित राख्न निर्देशन दिइएको छ।
कृष्ण स्टोरलाई मूल्यसूची थप व्यवस्थित गरी राख्न, श्रेष्ठ खाद्य स्टोरलाई मूल्यसूची तथा एमआरपी लेबल व्यवस्थित गर्न र प्रगति स्टोरलाई ग्यास बिक्री गर्दा उपभोक्तालाई प्राथमिकता दिई अभिलेख तथा बिल व्यवस्थित राख्न निर्देशन दिइएको छ।
त्यस्तै, ललितपुरको मुदिता इन्टरप्राइजेजलाई उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुन तथा नियमावलीअनुसार कारोबार व्यवस्थित गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले उपभोक्ताको अधिकार संरक्षण तथा बजारमा स्वच्छ व्यापारिक अभ्यास कायम गर्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

