एजेन्सी - दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले राष्ट्रपति नेतृत्वमा बसेको विपद् व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो । संघका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित शहर पेरेइरामा मात्रै ६० जनाको ज्यान गएको छ ।
भूकम्पपछि देशका पाँचवटा प्रमुख शहरमा ‘रेड अलर्ट’ घोषणा गरिएको छ । हालसम्म ८६ वटा भवन पूर्ण रूपमा भत्किएको पुष्टि भएको छ भने सातवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ । करिब पाँच लाख जनसंख्या रहेको पेरेइरा शहर भूकम्पको केन्द्रबिन्दुबाट ६४ किलोमिटरभन्दा कम दूरीमा अवस्थित रहेको बताइएको छ ।
भूकम्पका धक्का राजधानी बोगोटासहित देशका विभिन्न शहरमा महसुस गरिएको थियो। बोगोटामा साइरन र चेतावनी प्रणाली सक्रिय भएपछि धेरै भवनबाट मानिसहरू सुरक्षित स्थानतर्फ बाहिरिएका थिए ।
राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएलाले हालसम्म १ हजार ५७७ आवासीय भवनमा क्षति पुगेको र ३७ वटा भवन पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिएका छन् । उनका अनुसार ६० भन्दा बढी भवन भत्किएका छन् भने १८ स्वास्थ्य संस्था र ५२ विद्यालयमा समेत क्षति पुगेको छ ।
पश्चिम–मध्य कोलम्बियाको रिसाराल्दा विभाग सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखिएको छ । रिसाराल्दाका गभर्नर जुआन डिएगो पाटिनोले उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएका छन् ।
राष्ट्रपति दे ला एस्प्रिएलाले आपत्कालीन समिति गठन गरी प्रभावित नागरिकको सुरक्षाका लागि सरकारले आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भूकम्पपछिको अवस्थालाई सामना गर्न आफूले व्यक्तिगत रूपमा उद्धार तथा पुनस्र्थापना प्रयासको नेतृत्व गर्ने बताएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार बिहान ७:३४ बजे चोको क्षेत्रको सान होजे डेल पाल्मार नजिक भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको र गहिराइ १०७ किलोमिटर रहेको जनाइएको छ ।
चोको क्षेत्रकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबा कुरीले क्षेत्रीय राजधानी क्विब्डोमा धेरै व्यक्ति घाइते भएको र भवनहरूमा गम्भीर क्षति पुगेको बताएकी छन् । उनले परकम्पको सम्भावनाप्रति पनि चिन्ता व्यक्त गरेकी छन् ।
यसैबीच, बोगोटाका मेयर कार्लोस एफ गालानले प्रभावित क्षेत्रका लागि राहत संकलन अभियान सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार पिउने पानी, कम्बल, खाद्यान्न, सरसफाइ सामग्री र प्राथमिक उपचारका सामग्री संकलन गर्न राजधानीमा छवटा राहत संकलन केन्द्र स्थापना गरिएको छ ।
मेयर गालानले बोगोटामा हालसम्म कुनै गम्भीर क्षति नदेखिएको जनाउँदै उद्धार तथा खोज अभियानमा सहयोग गर्न १०० जना उद्धारकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको बताएका छन् । एएनआई

