काठमाडौं - महानायक राजेश हमालले नेपालको सांस्कृतिक विरासतमा सिंहको विशेष धार्मिक, आध्यात्मिक र ऐतिहासिक महत्व रहेको बताएका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै हमालले सिंहलाई केवल कलात्मक आकृतिका रूपमा बुझ्न नहुने उल्लेख गरेका छन्। उनका अनुसार शताब्दीयौँदेखि नेपाली धार्मिक तथा सांस्कृतिक परम्परामा सिंहले शक्ति, साहस, संरक्षकत्व, दैवी सामर्थ्य र सार्वभौमिकताको प्रतीकका रूपमा स्थान पाउँदै आएको छ।
नेवार कलाकार तथा शिल्पीहरूले आफ्नो विशिष्ट कला र शिल्पकौशलमार्फत सिंहका विभिन्न पौराणिक स्वरूप सिर्जना गरेको उल्लेख गर्दै हमालले मन्दिर, मूर्तिकला, वास्तुकला तथा धार्मिक कलामा रहेका सिंहका आकृति सजावटमा मात्र सीमित नभएको बताएका छन्।
उनले भगवान् विष्णुको नरसिंह अवतारलाई दैवी न्याय, साहस र संरक्षणको प्रत्यक्ष प्रतीकका रूपमा व्याख्या गरेका छन्।
हमालले इतिहासको महत्व मेटाउनु भनेको भावी पुस्तालाई आफ्नो पहिचान र सभ्यतागत यात्राबारे बुझ्ने आधारबाट वञ्चित गर्नु भएको बताएका छन्। इतिहास र स्मृति नभएको भविष्यलाई उनले मार्गदर्शन गर्ने कम्पासबिनाको यात्रासँग तुलना गरेका छन्।
उनले सिंह प्राकृतिक रूपमा नपाइने देश सिंगापुरको नामसमेत संस्कृत शब्द ‘सिंह’बाट आएको प्रसङ्गसमेत आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।

