काठमाडौं - यही साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’ अभिनेता श्री कृष्ण निरौलाका लागि केवल एउटा फिल्म नभइ २६ वर्ष लामो संघर्षपछि प्राप्त भएको एउटा महत्वपूर्ण उपलब्धि हो ।
लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिकामा देखिँदैछन् ।
चलचित्रबारे हामीसँग कुराकानी गर्दै निरौलाले ‘लज्जावती’लाई एउटा प्रेमकथामा आधारित पारिवारिक चलचित्रका रूपमा व्याख्या गरे । उनका अनुसार फिल्मले प्रेमको वास्तविक अर्थ र सम्बन्धमा आवश्यक समर्पण, विश्वास तथा प्राथमिकताको कथा प्रस्तुत गर्छ ।
‘आजको समयमा मानिसहरू छिट्टै प्रेममा पर्छन् र केही समयपछि अर्को व्यक्तिप्रति आकर्षित हुन्छन् । तर वास्तविक प्रेम भनेको एउटा व्यक्तिसँग हुने गहिरो कनेक्सन हो,’ उनले भने, ‘जसलाई माया गरिन्छ, परिस्थितिले टाढा बनाए पनि उसको खुसी चाहनु र माया गरिरहनु नै वास्तविक प्रेम हो । प्रेम कसरी गर्नुपर्छ र गरिसकेपछि त्यसलाई कसरी निभाउनुपर्छ भन्ने कुरा ‘लज्जावती’ले देखाउँछ ।
एउटै केटीलाई मात्र माया गर्ने पात्र
चलचित्रमा आफ्नो भूमिकाबारे धेरै कुरा खुलाउन नचाहेका निरौलाले आफूले एउटा अत्यन्तै सरल, सोझो र भावुक पात्रको भूमिका निर्वाह गरेको बताए । उनका अनुसार पात्रले आफूले माया गरेको व्यक्तिलाई पाउन नसके पनि उसको माया गर्न भने छाड्दैन ।
‘यो पात्रले एउटै केटीलाई मात्र माया गर्छ । त्यो माया यति गहिरो छ कि ऊ मेरो होस् वा नहोस्, उसले मलाई छाडेर जान चाहे पनि म उसलाई माया गरिरहन्छु,’ उनले भने ।
आफ्नो वास्तविक स्वभावसँग पनि उक्त पात्र केही हदसम्म मिल्ने उनको भनाइ छ । ‘रियल लाइफमा पनि म कसैलाई माया गरिसकेपछि एकदमै लोयल हुन्छु । भित्रैदेखि माया गर्ने मान्छे हुँ,’ उनले भने ।
तर वास्तविक जीवनमा भने प्रेममा असफल भएपछि जीवन नै रोक्न नहुने उनको धारणा छ । ‘कसैले छाडेर गयो भने उसको खुसी चाहनुपर्छ । तर आफ्नै जीवनलाई रोक्नु हुँदैन । करियर बनाउनुपर्छ, परिवार बनाउनुपर्छ, विवाह गर्नुपर्छ,’ उनले भने ।
‘लभ’ र ‘अट्र्याक्सन’ फरक हुन्
निरौलाले प्रेम र आकर्षणलाई एउटै रूपमा बुझ्न नहुने बताए । उनका अनुसार पहिलो भेटमै कसैलाई मन पराउनु प्रेम नभई आकर्षण हुन सक्छ ।
‘आज मैले कसैलाई देखेँ, राम्री लाग्यो र आइ लभ यु भनेँ भन्दैमा त्यो प्रेम हुँदैन । त्यो आकर्षण हुनसक्छ,’ उनले भने, ‘प्रेम विस्तारै बुझिँदै जाने कुरा हो । लामो समय सँगै बिताउँदै, एकअर्कालाई बुझ्दै जाँदा मात्र वास्तविक प्रेम हो कि होइन भन्ने थाहा हुन्छ ।’
उनका अनुसार प्रेममा प्राथमिकता, विश्वास, केयर र एकअर्काको भावनाको सम्मान महत्वपूर्ण हुन्छ । ‘मानिस जतिसुकै व्यस्त भए पनि आफूले माया गरेको व्यक्तिका लागि समय निकाल्छ । प्रेममा एउटा प्राथमिकता हुन्छ । केयरनेस, ट्रस्ट र पार्टनरलाई विशेष महसुस गराउने कुरा नै प्रेम हो,’ उनले भने ।
फिल्ममा रुन्चे पात्र हुँ
‘लज्जावती’मा दर्शकले आफूलाई अत्यन्तै भावुक पात्रका रूपमा देख्ने निरौलाले बताए । उनका अनुसार फिल्मको सुरुवातदेखि अन्त्यसम्म नै उनको पात्र भावनात्मक अवस्थाबाट गुज्रिन्छ ।
‘फिल्मभरि नै म रुन्चे क्यारेक्टरमा छु । परिवारसँगको सम्बन्ध होस् वा प्रेमिकासँगको सम्बन्ध, मेरो जीवन नै इमोसनले भरिएको छ,’ उनले भने ।
आफू वास्तविक जीवनमा पनि भावुक रहेको बताउँदै उनले सानो कुराले पनि आफ्नो आँखामा आँसु आउने बताए ।
‘म अलिकति धेरै भावुक छु । आफूले मन पराएको मान्छेले सानो कुरा मात्रै भन्यो भने पनि मेरो आँखाबाट आँसु झरिहाल्छ । मान्छे त केटा हो, तर मन चाहिँ केटीजस्तो छ,’ उनले हाँस्दै भने ।
‘फिल्म शिक्षा लिन जाने ठाउँ होइन’
चलचित्रले दर्शकलाई के शिक्षा दिन्छ भन्ने प्रश्नप्रति भने निरौलाको दृष्टिकोण केही फरक छ । उनका अनुसार फिल्मको मुख्य उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु र उनीहरूलाई केही समयका लागि दैनिक जीवनको तनावबाट बाहिर निकाल्नु हो ।
‘मान्छेले फिल्म हेरेर शिक्षा पाउनैपर्छ भन्ने मलाई लाग्दैन । शिक्षा पाउन स्कुल, कलेज छन् । फिल्म भनेको तीन घण्टा आफ्नो तनाव र व्यस्तताबाट बाहिर निस्किएर रिफ्रेस हुने ठाउँ पनि हो,’ उनले भने ।
‘लज्जावती’ हेर्दा दर्शक बोर नहुने र कथासँग भावनात्मक रूपमा जोडिने उनको विश्वास छ । प्रेम, ब्रेकअप र पारिवारिक सम्बन्ध सबैको जीवनसँग कुनै न कुनै रूपमा जोडिने भएकाले फिल्मले दर्शकलाई छुने उनको दाबी छ ।
‘सबैको जीवनमा कुनै न कुनै रूपमा प्रेम हुन्छ, ब्रेकअप हुन्छ । त्यसैले हाम्रो फिल्मको कथा धेरै दर्शकको जीवनसँग रिलेट हुन्छ,’ उनले भने ।
‘प्रेमी–प्रेमिकाले मात्र होइन, परिवारले पनि हेर्ने फिल्म’
‘लज्जावती’लाई प्रेमकथामा आधारित भए पनि प्रेमी–प्रेमिकाले मात्र हेर्ने फिल्मका रूपमा नबुझ्न उनले आग्रह गरे । उनका अनुसार चलचित्रमा पारिवारिक सम्बन्ध र बाउ–छोराको प्रेमसमेत देखाइएको छ ।
‘यो पूर्ण पारिवारिक फिल्म हो । आमा–बुबाको माया, बाउ–छोराको सम्बन्ध पनि फिल्ममा छ । त्यसैले परिवारसँग बसेर हेर्न मिल्ने फिल्म हो,’ उनले भने ।
२६ वर्षको संघर्षपछि प्रमुख भूमिका
निरौलाका लागि ‘लज्जावती’ विशेष हुनुको मुख्य कारण उनको २६ वर्ष लामो फिल्मी यात्रा हो ।
‘मानिसहरू एक–दुई–तीन वर्ष संघर्ष गरेपछि फिल्ममा आउँछन् । मैले २६ वर्ष संघर्ष गरेँ । आजसम्म प्रमुख भूमिकामा फिल्म खेल्न पाएको थिइनँ,’ उनले भावुक हुँदै भने ।
यस अवधिमा उनले सयौँ म्यूजिक भिडियोमा अभिनय गरेका छन् । विभिन्न सर्ट फिल्ममा काम गरे, अवसरका लागि धेरै ठाउँ धाए । यसअघि केही चलचित्रमा सहायक भूमिकामा देखिए पनि प्रमुख भूमिकामा भने ‘लज्जावती’मार्फत पहिलोपटक अवसर पाएका हुन् ।
‘म्यूजिक भिडियो सय–डेढ सयवटा गरेँ । मेरो टार्गेट भनेको फिल्म थियो । २६ वर्षदेखि म यही दिनको प्रतीक्षामा थिएँ,’ उनले भने, ‘बच्चैदेखि हिरो बन्ने सपना थियो । २६ वर्षपछि त्यो लक्ष्यमा पुगेँ । अब दर्शकले मलाई कसरी स्वीकार गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ ।’ उनका लागि यही कारण ‘लज्जावती’ अहिलेसम्मकै विशेष फिल्म बनेको छ ।
‘बिहे गर्न मन छ’
व्यक्तिगत जीवनबारे कुरा गर्दै निरौलाले आफूलाई विवाह गर्न निकै इच्छा रहेको बताए । उनका अनुसार केही वर्षअघि सात वर्ष लामो प्रेमसम्बन्ध टुंगिएपछि अहिलेसम्म उनको जीवनमा अर्को सम्बन्ध आएको छैन ।
‘मलाई बिहे गर्न एकदमै मन छ । चार–पाँच वर्षअघिदेखि नै बिहे गर्ने ठूलो प्लान थियो,’ उनले भने ।
आफ्नो भावी जीवनसाथी अहिले कहाँ छिन् भन्ने आफूलाई थाहा नभए पनि कुनै दिन भेट हुने उनको विश्वास छ ।
‘मसँग बिहे गर्ने केटी कतै न कतै त हुनुहुन्छ होला । अहिले उहाँ अरू कसैसँग सम्बन्धमा हुनुहुन्छ होला, ब्रेकअप भएर बसिरहनुभएको होला, अथवा आफ्नो जीवनमा व्यस्त हुनुहुन्छ होला । तर कुनै न कुनै दिन मसँग ठोक्किनुहुन्छ होला । म त्यही क्षणको प्रतीक्षामा छु,’ उनले हाँस्दै भने ।
विवाहपछि आफ्नी श्रीमतीलाई माइतीमा पाएको जस्तै माया, केयर र सुरक्षा दिन चाहेको पनि उनले बताए ।
‘मैंले यस्तो माया दिन सकूँ कि बिहे गरेपछि उहाँले आफूलाई भाग्यमानी ठान्नुहोस् । माइतीमा पाएको जस्तै माया, केयर र प्रोटेक्सन श्रीमानको घरमा पनि पाएको महसुस होस् भन्ने चाहन्छु,’ उनले भने ।
फिल्मबाट मात्रै आर्थिक रूपमा सुरक्षित हुन गाह्रो
नेपाली फिल्म उद्योगको वर्तमान अवस्थाबारे पनि निरौलाले खुलेर आफ्नो धारणा राखे । कलाकारिताबाट भविष्य बनाउन सकिने भए पनि फिल्म क्षेत्रबाट मात्रै आर्थिक रूपमा स्थिर हुन कठिन रहेको उनको भनाइ छ ।
‘नेपालमा सयवटा फिल्म बन्छन् भने सबै फिल्मले राम्रो व्यापार गर्दैनन् । धेरै फिल्म डुब्ने अवस्था छ । त्यसैले कलाकारितामै भविष्य खोज्ने हो भने पनि फिल्मसँगै अर्को व्यवसाय हुनुपर्छ,’ उनले भने ।
उनले नेपाली कलाकारहरूले व्यवसायमा समेत लगानी गरिरहेको उदाहरण दिँदै नेपाली फिल्म उद्योग र बलिउड–हलिउडको आर्थिक संरचनाबीच ठूलो अन्तर रहेको बताए ।
‘हाम्रो बजार सानो छ, बजेटको समस्या छ र दर्शक संख्या पनि सीमित छ । करोडौँ लगानी गरेर बनाइएको फिल्मले लगानी उठाउन पनि धेरै ठूलो व्यापार गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
ट्रेलरबाट उत्साहित
‘लज्जावती’को ट्रेलर सार्वजनिक भएपछि आफूले सकारात्मक प्रतिक्रिया पाएको निरौलाले बताए । विभिन्न फिल्मका निर्देशक तथा डीओपीहरूले व्यक्तिगत रूपमा फोन गरेर आफ्नो अभिनयको प्रशंसा गरेको उनको भनाइ छ ।
‘ट्रेलरपछि धेरै फोन आए । राम्रो फिल्म मेकर र डीओपीहरूले समेत काम राम्रो देखिएको भनेर कम्प्लिमेन्ट गर्नुभयो । त्यसले मलाई अझ राम्रो गरेको रहेछु कि क्या हो भन्ने महसुस भयो,’ उनले भने ।
तर ट्रेलर राम्रो भए पनि फिल्म पनि त्यही स्तरको हुनुपर्ने चुनौती रहेको उनी स्वीकार्छन् ।
‘ट्रेलर राम्रो छ भन्दैमा फिल्म पनि राम्रो हुन्छ भन्ने हुँदैन । मेरो चाहना ट्रेलरमा देखिएको काम फिल्मभरि पनि दर्शकले देख्न पाऊन् भन्ने हो,’ उनले भने ।
‘साउन २९ मा हलमा आइदिनुहोस्’
फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा निरौलाले दर्शकसँग भावुक अपिल पनि गरेका छन् ।
‘म नयाँ छु । फिल्ममा पहिलोपटक प्रमुख भूमिकामा आउँदैछु । बोल्ने क्रममा कतिपय कुरा गलत हुन सक्छन्, चिप्लिन सक्छु । गल्ती भए माफ गरिदिनुहोला,’ उनले भने ।
दर्शकलाई कलाकारका लागि भगवान सरह भएको बताउँदै उनले सामाजिक सञ्जालमा पाएको मायालाई अब हलसम्म पुर्याइदिन आग्रह गरे ।
‘अडियन्सले फिल्म हेर्नुभयो भने मात्रै हामी कलाकार हुने हो । दर्शकले माया नगरे हामी कलाकार भएर केही हुँदैन,’ उनले भने, ‘टिकटकमा, युट्युबमा र म्युजिक भिडियोमा दिनुभएको माया अब हलसम्म पनि पुर्याइदिनुहोस् ।’
आफूलाई दर्शकले साथ दिए अर्को फिल्ममा काम गर्ने अवसरसमेत प्राप्त हुने उनको विश्वास छ । ‘एकदिनको कुरा हो, समय मिलाएर परिवारसहित हलमा आएर फिल्म हेर्नुहोस् । फिल्म हेरेपछि आफ्नो प्रतिक्रिया दिनुहोस् । साउन २९ गते हलमा भेटौँ,’ उनले भने ।
‘लज्जावती’लाई ‘टिपिकल तर मिठो प्रेमकथा’का रूपमा चित्रण गरेका निरौलाले दर्शकको मायाले आफ्नो २६ वर्ष लामो यात्रालाई सार्थक बनाउने विश्वास व्यक्त गरे ।
‘मैले २६ वर्षदेखि जुन दिनको प्रतीक्षा गरिरहेको थिएँ, त्यो दिन आएको छ । अब मेरो कामलाई दर्शकले कसरी लिनुहुन्छ, त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

