Harsamaya
गाजामा युद्धविरामपछि ३०० बालबालिकाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले गत अक्टोबरमा युद्धविराम लागू भएयता गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको जनाएको छ।

मध्यपूर्व तथा उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरका अनुसार युद्धविराम जारी रहे पनि औसतमा दैनिक एक बालबालिकाले ज्यान गुमाइरहेका छन्। सयौँ बालबालिका घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको उनले बताएका छन्।

युनिसेफका अनुसार गाजाका परिवारहरू हाल करिब एक तिहाइ भूभागमा सीमित भएर क्षतिग्रस्त भवन, भग्नावशेष र फोहोरको थुप्रोबीच असुरक्षित अवस्थामा जीवन बिताउन बाध्य छन्। बालबालिकाहरूले कुपोषण, रोग, सुरक्षित खानेपानीको अभाव र बिग्रिएको सरसफाइ प्रणालीको गम्भीर असर झेलिरहेका छन्।

युनिसेफले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्य, शिक्षा, खानेपानी र खाद्य सामग्रीमा पहुँच उपलब्ध गराउन तथा मानवीय सहायता निर्बाध रूपमा पुग्ने वातावरण बनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update