काठमाडौं - सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले २२ दिनदेखि बन्द रहेको अरनिको राजमार्ग र तातोपानी नाकाको विषयमा सांसद भरत पराजुली मौन रहेको भन्दै प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले अरनिको राजमार्ग र तातोपानी नाका सांसदको प्राथमिकतामा नपरेको हो वा जानकारी नै नभएको हो भन्दै प्रश्न गरेका छन्।
बस्नेतका अनुसार कोदारी–इको खण्ड असार ३१ गतेदेखि, डाक्लाङ (१०४ किलो) साउन ३ गतेदेखि र लिपिङ बजार नजिकको सडक साउन १९ गतेदेखि पहिरोका कारण अवरुद्ध छ। राजमार्ग लामो समयदेखि बन्द हुँदा तातोपानी नाकामार्फत व्यापार गर्ने व्यवसायी तथा मजदुरहरू गम्भीर समस्यामा परेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार भन्सारमा सामान लोड–अनलोड गर्ने करिब ६४० मजदुर र ट्रान्सपोर्ट तथा भन्सारसम्बन्धी काम गर्ने करिब ३०० कामदार प्रत्यक्ष प्रभावित भएका छन्।
बस्नेतले सरोकारवाला निकायलाई स्थानीयवासीलाई विश्वासमा लिएर बस्ती सुरक्षित राख्दै राजमार्ग सञ्चालन गर्ने गरी तत्काल पहल गर्न आग्रह गरेका छन्।
साथै, उनले सामाजिक सञ्जालमा सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद पराजुलीले संसदमा बोलेको देखिए पनि अरनिको राजमार्ग २२ दिनदेखि बन्द रहेको विषयमा आवाज नउठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र कानुन मन्त्री सविता गौतमले बन्द सडकको अनुगमन गरेको २१ दिन भइसकेपनि सडक अझै सञ्चालनमा आएको छैन ।

