Harsamaya
साइबर उजुरी २० हजार नाघ्यो, बालिकामाथि डिजिटल हिंसा बढी
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपालमा डिजिटल हिंसासम्बन्धी उजुरीको संख्या हरेक वर्ष बढ्दै गएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २० हजार ५२६ वटा साइबर उजुरी दर्ता भएका छन्, जुन अहिलेसम्मकै उच्च हो।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६, २०८०/८१ मा १९ हजार ७३०, २०७९/८० मा ९ हजार १३ र २०७८/७९ मा ४ हजार ६८६ उजुरी दर्ता भएका थिए।

साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २७५ बालक र ४०४ बालिका डिजिटल हिंसाको शिकार भएका छन्। बालकको तुलनामा बालिका ४६.९ प्रतिशत बढी डिजिटल हिंसामा परेको तथ्याङ्कले देखाएको छ।

उक्त अवधिमा ८ हजार ७२६ महिला र १० हजार १८४ पुरुषले साइबर अपराधसम्बन्धी उजुरी दिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ९२१ महिला र ९ हजार ७८७ पुरुषले उजुरी दिएका थिए।

साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित घटनामध्ये साइबर बुलिङ तथा डिजिटल हिंसाका घटना सबैभन्दा धेरै छन्। त्यस्तै, नक्कली (फेक) आइडी बनाएर हुने ठगी र दुरुपयोगका घटना पनि उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ।

सामाजिक सञ्जालमध्ये फेसबुक र म्यासेन्जरमार्फत सबैभन्दा धेरै ७ हजार २१८ घटना भएका छन्। त्यसपछि टिकटकमा ६ हजार ९४६, ह्वाट्सएपमा ३ हजार ३७१ र टेलिग्राममा ८५३ घटना दर्ता भएका छन्।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको तीव्र विकाससँगै साइबर अपराध र डिजिटल हिंसाका घटना बढ्दै गएको बताउँदै यसको नियन्त्रणका लागि पर्याप्त स्रोत–साधन, जनशक्ति र कानुनी सुधार आवश्यक रहेको उल्लेख गरे । 

उनले साइबर ब्यूरोमा थप जनशक्ति व्यवस्थापन, प्रदेशस्तरमा ‘स्याटलाइट युनिट’ विस्तार, साइबरसम्बन्धी कानुन अद्यावधिक, सामाजिक सञ्जालको प्रभावकारी नियमन, गोपनीयतासम्बन्धी कानुन सुदृढीकरण तथा डिजिटल फरेन्सिक क्षमता विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

हाल विद्युतीय कारोबार ऐन, २०६३ अनुसार विद्युतीय माध्यमबाट हुने साइबर अपराधमा दुई लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update