काठमाडौं - हरितालिका तीजको अवसर पारेर निर्माता तथा गीतकार अविरल थापाले सार्वजनिक गरेको नयाँ तीज गीत ‘दिक्क लाईसक्यो’ ले आफ्नो फरक भिडियो अवधारणाका कारण चर्चा बटुलेको छ। परम्परागत रूपमा रुदन र पीडामा केन्द्रित तीज गीतभन्दा भिन्न शैली अपनाउँदै यस गीतले आधुनिक महिलाको दैनिकीलाई हास्य–व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरेको छ।
गीतको सबैभन्दा आकर्षक पक्ष यसको भिडियो निर्माण शैली हो। भिडियोमा ‘एज रिभर्सड कास्टिङ’ प्रयोग गरिएको छ, जहाँ विवाहित महिलाको भूमिकामा नेपा डान्स एकेडेमीका १६ जना बालिकालाई प्रस्तुत गरिएको छ। वयस्क महिलाको भेषमा उनीहरूले गरेको अभिनय र नृत्यले भिडियोलाई नयाँपन दिएको छ।
निर्माणाधीन चलचित्र ‘जुबा’ की लेखिका वर्षा पौडेलले निर्देशन गरेको भिडियोमा रोहिया महर्जनको कोरियोग्राफी रहेको छ।
गीतका शब्दमार्फत जग्गा व्यवसायी, डाक्टर, पत्रकार, पसले, वैदेशिक रोजगारीमा रहेका व्यक्ति, शेयर कारोबारी, सरकारी कर्मचारी, सेना तथा फिल्मकर्मी श्रीमानसँग जोडिएका महिलाले भोग्ने दैनिकीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।
गीतकार अविरल थापाले बजारमा आइरहेका एउटै ढाँचाका तीज गीतभन्दा फरक विषयवस्तु र प्रस्तुति दिने उद्देश्यले यो गीत तयार गरिएको बताएका छन्। उनका अनुसार बदलिँदो समयका महिलाको वास्तविक अनुभवलाई मनोरञ्जनात्मक ढङ्गले देखाउने प्रयास गरिएको हो।
गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता विकको स्वर रहेको छ भने संगीत किरण भुसालले दिएका छन्।
देवाश्री फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘दिक्क लाईसक्यो’ फरक प्रस्तुति, समसामयिक विषयवस्तु र व्यङ्ग्यात्मक शैलीका कारण दर्शकमाझ चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

