Harsamaya
झापामा हेरोइन, ट्रामाडोल क्याप्सुल र नाइट्राजेपाम ट्याब्लेटसहित दुई भारतीय पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय काँकडभिट्टाको टोलीले झापाको कनकाई नगरपालिका–२ बाट ठूलो परिमाणमा लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार साउन १६ गते जिल्लाको कनकाई नगरपालिका–२ क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा गरिएको अपरेशनका क्रममा भारत, बिहार राज्य, अररिया जिल्लाका २७ वर्षीय अजहर अन्सारी र २८ वर्षीय महम्मद एहसान पक्राउ परेका हुन्।

उनीहरूको साथबाट १०२ ग्राम ब्राउन हेरोइन, ७,२०० क्याप्सुल ट्रामाडोल तथा ७,४५० ट्याब्लेट नाइट्राजेपाम बरामद गरिएको प्रहरीले जनाएको छ। साथै घटनास्थलबाट दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापा मा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार र अवैध कारोबार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ। साथै यस्ता अवैध गतिविधिबारे सूचना भएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update