रुपन्देही - रुपन्देही प्रहरीले अवैध रूपमा भिओआइपी कल बाइपास गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्क क्षेत्रस्थित एक होटलमा कोठा भाडामा लिएर अवैध भिओआइपी कल बाइपास सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। छापाका क्रममा गोरखा जिल्ला चुमनुब्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङ पक्राउ परेका छन्।
प्रहरीले घटनास्थलबाट भिओआइपी कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरण बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा दुई थान डिभाइस, दुई थान राउटर, एक थान इन्टरनेट उपकरण, दुई थान मल्टिप्लग, तीन थान मोबाइल, ५६ थान भारतीय सिमकार्ड, ३८ थान एनसेल सिमका खोल, एक थान नेपाल टेलिकमको सिमकार्ड, तीन थान चार्जिङ सिमकार्ड, तीन थान आरजे-४५ केबल, एक थान टेबल पंखा, नगद नेपाली तथा भारतीय रुपैयाँ, एक स्कुटर, नेपाली नागरिकता, भारतीय निर्वाचन कार्ड र नेपाली सवारी चालक अनुमतिपत्र लगायतका सामग्री रहेका छन्।
पक्राउ परेका गुरुङविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत भिओआइपी कल बाइपास सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

