काठमाडौं - लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा हिरासतबाट फरार भएका सप्तरीका ३४ वर्षीय कृष्ण यादव एक वर्षपछि पुनः पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ का यादवलाई साउन १० गते सप्तरीको राजगढ गाउँपालिका–२ बाट पक्राउ गरिएको हो। उनी जेन्जी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका थिए।
अनुसन्धानका अनुसार यादवले दोस्रो श्रीमती सविना अधिकारीलाई लोकसेवा तयारीका लागि काठमाडौंमा कोठा खोजिदिने, कक्षामा भर्ना गरिदिने बहानामा काठमाडौं पठाई लागूऔषध रिसिभ गर्ने, डेरामा भण्डारण गर्ने र बिक्री–वितरणमा प्रयोग गर्दै आएका थिए। सविना अधिकारी २०८२ असार १२ गते १११ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेकी थिइन्। त्यसपछि अनुसन्धानका क्रममा कृष्ण यादवलाई पनि पक्राउ गरिएको थियो।
तर हिरासतबाट फरार भएपछि उनी भारततर्फ लुकेर बसेको र त्यहींबाट आलु–प्याजको बोराभित्र लुकाएर काठमाडौंसम्म लागूऔषध पठाउने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ।
यसअघि २०८३ असार २७ गते ३०० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका थिए। अनुसन्धानका क्रममा उक्त लागूऔषध कृष्ण यादवले नै पठाएको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवमाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

