सर्लाही - बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए।
घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्याएको थियो। सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकोमा पछि रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा लगिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न बसन्ता बैठा धोबीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

