काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि बिरामी रहेका उनको मंगलबार दिउँसो ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ।
त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
२०१७ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वमन्त्री हुन्।
उनी नेपाल सरकारमा उपप्रधानमन्त्रीसहित शिक्षा, वन तथा भूसंरक्षण, उद्योग र भौतिक योजना तथा निर्माणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए।
उनी २०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–६३ सालको ऐतिहासिक जनआन्दोलनका अग्रपंक्तिका योद्धाहरूमध्ये एक थिए।
अर्थशास्त्रमा स्नातक श्रेष्ठ राजनीतिसँगै नेपाल रेडक्रसलगायत विभिन्न सामाजिक संस्थाहरूमा समेत सक्रिय रूपमा आवद्ध रहेका थिए।

