काठमाडौं - अविरल वर्षापछि म्याग्दीमा खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ।
सोमबार बिहान करिब २ बजे धवलागिरि गाउँपालिका–७ धारापानी तल्लो हाडेभिरस्थित टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो। घरभित्र रहेका तीनै जनालाई नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ। घटनामा चौपायामा कुनै क्षति नभएको र आसपासका बस्ती तत्काल जोखिममा नरहेको जनाइएको छ।
यस्तै, बेनी नगरपालिका–३ भकिम्ली चिमखेतमा आफ्नै घरमा सुतिरहेका ७० वर्षीय लालबीर छन्त्याल घरमाथिबाट खसेको पहिरोमा पुरिएका थिए। खोजी तथा उद्धारका क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै निरन्तर वर्षाका कारण पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।

