Harsamaya
निर्मलाले न्याय नपाएको ८ वर्ष, अनुसन्धान अझै निष्कर्षविहीन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

 कञ्चनपुर - देशभर आक्रोश र आन्दोलनको विषय बनेको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणले आज आठ वर्ष पूरा गरेको छ। तर, यति लामो समय बितिसक्दा पनि घटनाका दोषीको पहिचान हुन नसक्दा पीडित परिवारले अझै न्यायको प्रतीक्षा गरिरहेका छन्।

२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा निम्बुखेडाको उखुबारीमा शव फेला परेको थियो। उक्त घटनाले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म व्यापक चर्चा पाएको थियो।

प्रहरीले आठ वर्षदेखि विभिन्न कोणबाट अनुसन्धान जारी राखेको भए पनि घटनाको वास्तविक अभियुक्तसम्म पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा जिल्ला प्रहरीको टोलीले अझै पनि घटनाको सघन अनुसन्धान गरिरहेको छ।

निर्मला प्रकरणले उग्र आन्दोलनको रूप लिँदा महेन्द्रनगरमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ का सन्नी खुनाको मृत्यु भएको थियो। त्यसयता हरेकजसो सरकारले घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याए पनि आठ वर्षसम्म पनि न्याय सुनिश्चित हुन सकेको छैन।

प्रहरीले सयौँ व्यक्तिमाथि अनुसन्धान गरेको, डिएनए परीक्षण गरेको, सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा तानिएको र विभिन्न छानबिन समिति गठन गरिएको भए पनि घटनाका दोषी अझै कानुनी दायरामा आउन सकेका छैनन्।

निर्मला पन्त प्रकरण आज पनि नेपालमा न्याय, अनुसन्धान र दण्डहीनताको बहसको सबैभन्दा चर्चित घटनामध्ये एक बनेको छ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update