काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिका–१ झोर साङ्लामा पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मृतक तारकेश्वर–नेपालटार निवासी करिब ४० वर्षीया रश्मी रिजाल रहेको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रिजाल शुक्रबारदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि निवेदन दिएको थियो। त्यसपछि प्रहरीले खोजी गर्ने क्रममा शनिबार दिउँसो उनी आफैँले चलाएर गएको कारभित्र पछाडिको सिटमा शव फेला पारेको हो।
प्रहरीका अनुसार रिजाल सानिमा क्यापिटलमा कार्यरत थिइन्। घटनास्थलमा भेटिएको कारको भित्री भाग अधिकांश जलेको अवस्थामा रहेको छ। आगलागी कसरी भयो र घटनामा कुनै आपराधिक संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्ट र घटनास्थलबाट संकलित प्रमाणका आधारमा मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ।

