Harsamaya
दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
नेपाल दूरसञ्चार प्राधिकरण ।

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ भन्दा बढी वेबसाइट र एप बन्द गरेको जनाएको छ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसम्बन्धी वेबसाइट र एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार सुरुमा सञ्चालनमा रहेका सबै बेटिङ वेबसाइट बन्द गरिए पनि नयाँ नाममा पुनः सञ्चालन हुने क्रम जारी रहेपछि प्राधिकरणले निरन्तर कारबाही गर्दै आएको हो।

विशेषगरी फिफा विश्वकप अवधिमा अनलाइन बेटिङको जोखिम बढ्न सक्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोमा प्राधिकरणले विशेष कार्यदल गठन गरेर कारबाही तीव्र बनाएको हो।

प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँगको समन्वयमा अवैधानिक वेबसाइटका युआरएल ‘ब्लक’ गरिन्छ। नयाँ वेबसाइट लगातार खुलिरहने भएकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी त्यस्ता साइट पहिचान र बन्द गर्ने काम निरन्तर भइरहेको उनले बताए । 

प्राधिकरणले अवैधानिक बेटिङ वा वित्तीय कारोबारसम्बन्धी वेबसाइटबारे जानकारी भए सम्बन्धित लिङ्कमार्फत सूचना उपलब्ध गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update