गण्डकी - अन्नपूर्ण पदमार्ग तथा आसपासका उच्च हिमाली क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा लेक लागेर २५ जना पर्यटकको मृत्यु भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार मृत्यु हुनेमा १२ नेपाली, नौ भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक–एक जना रहेका छन्।
मुस्ताङमा १५, मनाङमा आठ, अन्नपूर्ण आधार शिविरमा एक र मर्दी हिमाल क्षेत्रमा एक जनाको लेक लागेर मृत्यु भएको हो। मृत्यु हुने नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया थिए।
त्यसै अवधिमा पदयात्राका क्रममा लड्ने तथा अन्य दुर्घटनाबाट थप पाँच जना पर्यटकको ज्यान गएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार मुस्ताङ र मनाङका उच्च हिमाली क्षेत्रमा लेक लाग्ने घटना बढी हुने गरेको छ। सडकमार्ग हुँदै एकैपटक मुक्तिनाथजस्ता उच्च स्थानमा पुग्ने नेपाली र भारतीय पर्यटकमा यस्तो समस्या बढी देखिने गरेको उहाँले बताउनुभयो।
विशेषज्ञहरूले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा एकैपटक धेरै उचाइमा नजान, बीच–बीचमा विश्राम गर्दै शरीरलाई वातावरणसँग अनुकूल बनाउन र लेक लागेको लक्षण देखिए तत्काल कम उचाइ भएको स्थानमा झर्न सुझाव दिएका छन्।
साथै, एक दिनमा ५०० मिटरभन्दा बढी उचाइ नबढाउन र सकेसम्म समूह वा पथप्रदर्शकसँगै पदयात्रा गर्न आग्रह गरिएको छ।

