Harsamaya
बाजुरामा जिप दुर्घटना : दुईको मृत्यु, चालकसहित सात घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

बाजुरा - बाजुराको हिमाली गाउँपालिका–५ स्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।

धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।

दुर्घटनामा घाइते भएका हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का करिब ४० वर्षीय अमरसिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक जनवीर बुढासहित मिजरा बुढा, अस्मिता थापा, जंगसिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढालगायत सात जना घाइते भएका छन्। उनीहरूको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ। अधिकांश घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update