Harsamaya
कोशीमा पानीको बहाव तीव्र, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
कोशी ब्यारेज ।

काठमाडौं - निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबारसम्म नदीको जलसतह सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आइतबार साँझसम्म कोशी नदीको जलसतह ४.७८ मिटर पुगेको छ। उपल्लो जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले सोमबार बिहानसम्म जलसतह ६ मिटरको सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएको छ। नदीको सतह ७ मिटर पुगेमा खतरा तह मानिने विभागले जनाएको छ।

बाढीको जोखिम बढ्न थालेपछि कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने तयारी गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय भइरहेको र आवश्यक सबै पूर्वतयारी अवस्थामा रहेको जनाएको छ।

विभागले देशका विभिन्न स्थानमा अझै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नदी किनारका बासिन्दा, यात्रु र स्थानीय तहलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update