Harsamaya
भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा १६ वर्षीय युवकको मृत्यु,  युवती गम्भीर घाइते
एसएस चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु ।

काठमाडौं - भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ एसएस चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।

शनिबार दिउँसो एसएस कलेजबाट बागमती पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँथिमी चोकबाट राधेराधेतर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर कटारी नगरपालिका–२ घर भई हाल काठमाडौंको तीनकुने बस्दै आएका १६ वर्षीय कबिर कार्कीको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकलमा पछाडि सवार काठमाडौं सिनामंगल बस्ने १९ वर्षीया अलिया विक गम्भीर घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न अर्को मोटरसाइकलका चालक खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्दै आएका २४ वर्षीय मनिष राई सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। उनलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update