Harsamaya
काठमाडौंमा पाँच सवारी एकापसमा ठोक्किए: १० जना घाइते, एकको अवस्था गम्भीर
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौं महानगरपालिका–४ स्थित कत्तार भिसा सेन्टरअगाडिको सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०६डिडि६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा काठमाडौं बसुन्धाराकी ६५ वर्षीया कुन्तिमाया लिम्बू गम्भीर घाइते भएकी छन्। उनको टाउको र दायाँ हातमा चोट लागेको छ। अन्य नौ जनाको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा बाँके घर भई काठमाडौं मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही, उनका १० वर्षीय भाइ सुशान्त शाही, मोटरसाइकल चालक बिकी शाहा, ट्याक्सी चालक उर्जा लामा, मोटरसाइकल चालक निउजित शाह, तेह्रथुमकी विष्णुमाया खापुङ, उदयपुरकी पार्वती तामाङ, मोटरसाइकल चालक बिनोद थापा मगर र नवलपुरका जीवन राना मगर रहेका छन्।

प्रहरीका अनुसार सबै घाइतेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update