Harsamaya
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल चिडियाखाना आजदेखि खुला
सांकेतिक तस्वीर: हर समय/Har Samaya

ललितपुर - बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आज देखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ।

काग, गिद्ध, हाँसलगायत पक्षीमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो। सङ्क्रमित पक्षीको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन सम्पन्न गरी वातावरणीय नमुनाको परीक्षणमा भाइरस नदेखिएपछि चिडियाखाना पुनः खोल्ने निर्णय गरिएको हो।

चिडियाखाना प्रशासनका अनुसार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले पुनः सञ्चालनको निर्णय गरेको हो।

प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाले चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहने र आगन्तुकले बेलुका ५ बजाभित्र बाहिरिनुपर्ने जानकारी दिए।

चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गर्न, यसअघि सङ्क्रमण देखिएका खोर नजिक अनावश्यक रूपमा नजान तथा रातो रिबनले घेरिएका क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। साथै, खुला स्थानमा खानेकुरा नखान, फोहर डस्टबिनमा व्यवस्थापन गर्न र अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update