काठमाडौं - बितेका तीन महिनामा देशभर विभिन्न प्रकारका ३ हजार २९६ विपद्का घटना हुँदा १६० जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका घटनामा दुई जना बेपत्ता, ९४५ जना घाइते तथा चार हजार ३७५ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी ८९७ आगलागीका घटना भएका छन्। आगलागीबाट १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्। सर्पदंशका ५१४ घटनामा ३८ जनाले ज्यान गुमाएका छन् भने ४७९ जना घाइते भएका छन्। सर्पदंशबाट ५१७ परिवार प्रभावित भएका छन्।
यस्तै, हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते र एक हजार ३५६ परिवार प्रभावित भएका छन्। पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन्। चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते र २६२ परिवार प्रभावित भएका छन्।
वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका छन्। बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन्। भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते र १३२ परिवार प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ छन्। ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ। यस अवधिमा वन डढेलोका १९१ घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् भने हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको विवरणमा उल्लेख छ।
मनसुन सक्रिय भइरहेका बेला विपद्का घटना थप बढ्न सक्ने भएकाले प्राधिकरणले नागरिकलाई सतर्क रहन, स्थानीय प्रशासनका सूचना पालना गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

