काठमाडौं - जेनजी आन्दोलनका अभियन्ता माजिद अन्सारीले नेपाल प्रहरीले आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिएर कुटपिट तथा मानसिक यातना दिएको आरोप लगाएका छन्।
बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न गएको बेला आफू र आन्दोलनका साथीहरूलाई प्रहरीले घेरा हालेर कुटपिट गरेको दाबी गरेका छन्। उनले उपचारका क्रममा आफ्नो मेडिकल रेकर्डमा 'Police Assault' उल्लेख गर्न नदिने प्रयास भएको तथा अस्पतालमै प्रहरीले दबाब दिएको आरोप पनि लगाएका छन्।
अस्पतालबाट डिस्चार्ज भइसकेको जनाउँदै अन्सारीले स्वास्थ्य अवस्था सामान्य भएपछि घटनाबारे सार्वजनिक रूपमा बोल्ने र प्रहरीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्। साथै उनले कानुन व्यवसायी, मानवअधिकारकर्मी, पत्रकार तथा नागरिक समाजलाई साथ दिन आग्रह गरेका छन्।

