Harsamaya
टमाटर सडकमा फालेपछि सरकारको ‘उल्टो’ निर्णय: काठमाडौंबाटै बाहिर टमाटर पठाउने तयारी
सडकमा फालिएका गोलभेडा ।

काठमाडौं - माइतीघरमा किसानले टमाटर सडकमा फालेर विरोध गरेलगत्तै कृषि मन्त्री गीता चौधरीले समाधानका रूपमा कालीमाटीबाट उपत्यका बाहिर टमाटर ढुवानी सुरु गराएको घोषणा गरेकी छन्। तर यो निर्णयले नै प्रश्न उठाएको छ।

सामान्यतया काठमाडौं उपत्यका तरकारी उत्पादनको मुख्य क्षेत्र होइन, बरु देशका विभिन्न जिल्लाबाट आउने तरकारीको सबैभन्दा ठूलो उपभोक्ता बजार हो। कालीमाटी पनि उत्पादन केन्द्र नभई देशभरबाट आएको कृषि उपजको थोक बजार हो। यस्तो अवस्थामा काठमाडौंबाटै बाहिर टमाटर पठाउने निर्णयले बजार व्यवस्थापनको वास्तविक समस्या समाधान गर्छ कि गर्दैन भन्ने प्रश्न उब्जिएको छ।

किसानको मुख्य गुनासो उत्पादनको उचित मूल्य नपाउनु, बिचौलियाको नियन्त्रण र बजार व्यवस्थापनको कमजोरी हो। यी संरचनात्मक समस्या समाधान नगरी एक ठाउँबाट अर्को ठाउँमा टमाटर पठाउनु मात्र दीर्घकालीन समाधान हुन नसक्ने कृषि क्षेत्रका जानकारहरू बताउँछन्।

मन्त्री चौधरीले किसानका मागप्रति सरकार गम्भीर रहेको र बजार व्यवस्थापन सुधार्ने प्रतिबद्धता जनाए पनि आन्दोलनपछि आएको यो निर्णयलाई धेरैले तत्कालीन प्रतिक्रिया मात्र भएको टिप्पणी गरेका छन्। किसानले भने सरकारबाट घोषणाभन्दा पनि उत्पादनको उचित मूल्य सुनिश्चित हुने स्थायी नीति र प्रभावकारी बजार संयन्त्रको अपेक्षा गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update