Harsamaya
कोलकातामा मल थुप्रिएको मन्त्रालयको दाबी, खेतसम्म कहिले पुग्छ ? 
कृषि मन्त्री गीता चौधरी ।

काठमाडौं - सरकारले रासायनिक मल आपूर्ति सहज हुने दाबी गरे पनि किसानले आवश्यक समयमा मल पाउने सुनिश्चितता अझै देखिएको छैन।

कृषि मन्त्रालयले कोलकाता र विशाखापट्टनम बन्दरगाहमा हजारौं मेट्रिक टन डीएपी र युरिया मल आइपुगेको जनाएको छ, तर ती मल अझै बन्दरगाहमै प्याकिङ, भन्सार र ढुवानी प्रक्रियामा छन्।

मन्त्रालयका अनुसार ३० हजार मेट्रिक टन डीएपी विशाखापट्टनम, २७ हजार मेट्रिक टन डीएपी कोलकाता बन्दरगाहमा पुगेको छ भने थप डीएपी र दुई जहाज युरिया पनि केही दिनमै कोलकाता पुग्नेछन्।

तर किसानलाई चाहिने बेला मल खेतमा पुग्ने कि नपुग्ने भन्ने मुख्य प्रश्नको स्पष्ट उत्तर सरकारले दिएको छैन।

धान रोपाइँको मुख्य समय चलिरहेका बेला मल अझै बन्दरगाहमै सीमित हुनु विगतका वर्षझैँ ढिलाइ दोहोरिने संकेत भएको भन्दै किसानले चिन्ता व्यक्त गर्दै आएका छन्।

सरकारले आपूर्ति व्यवस्थापन तीव्र बनाइएको दाबी गरे पनि यसको वास्तविक परीक्षण भने मल समयमै किसानको हातमा पुगेपछि मात्र हुनेछ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  ०७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update