Harsamaya
रौतहटमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा युवक गम्भीर घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

रौतहट - रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् । गरुडा नगरपालिका वडा नम्बर ९ गमरिया टोल बस्ने २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । 

देबेन्द्र सहनीका छोरा गौतमले घरायसी वा अन्य केही कारणले सो कदम चालेको हुनसक्ने प्रहरीको अनुमान छ । आगोबाट निजको घाँटीमुनिको भाग करिब ३१.५ प्रतिशत जलेको रौतहट प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमले बताए ।

उनका अनुसार घटनालगत्तै उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँ रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

उनको अवस्था मध्यम रहेको र उपचारमा उनका बुवा संलग्न रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा घाइते युवकले मानसिक रोगको औषधि सेवन गरिरहेको र घटनाको समयमा मादक पदार्थ सेवन (मा.प.से.) गरेको उनका पारिवारिक सदस्यहरूले बताएका छन् ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update